Tuesday, April 5, 2011

नैतिकता आजको आवश्यकता

बुद्धि प्रसाद उपाध्याय
      धरा आज संकटग्रस्त अवस्थामा छ ! बिभिन्न प्रकारका प्राकृतिक दुर्योग हरु जुन मानव नियन्त्रण भन्दा माथि छन् ति त आफ्नै ठाँउमा छंदैछन ,जसका लागि हामीले धैर्य धारण गर्ने बाहेक अरु बिकल्प छैन !तर ई दुर्योगहरु बाहेकनै मानव निर्मित र आमन्त्रित यस्ता बिपत्तिहरु छन् जसले गर्दा आज सम्पूर्ण जलचर ,स्थलचर र नभचर प्राणिहरुको जीवन असाध्य संकटपूर्ण बनि रहेको छ तथापि ईश्वरको सृष्टिको अनुपम उपहार यो उच्च चेतना बोक्ने मानिस यस तर्फ उदासिन रहेको देखिन्छ !आज भूगर्भशास्त्रीहरुले प्रमाणित गरि सकेका छन् की जीवनको प्रमुख आधार जल सम्पदाको मुहान यति दुषित भै सकेको छ की यसको सेवनले प्राणी जगतमा जीवनको संचार गर्नु भन्दा धेर जीवनको प्रतिकुलता बढाउने काम हरुनै बढी भै रहेको छ !

यसै गरि वातावरणबीदहरुले प्रमाणित गरि सकेको यथार्थ जुन छ त्यस अनुसार स्वस्थ बायुमंडल जसवाट हामि बिशुद्ध अक्सिजेन ग्रहण गरेर आफ्नो स्वास्थ्य लाभ गर्न सक्षम बन्छौं त्यो समेत दुषित भै सकेको छ र आयु दिनानुदिन छोट्टीदै गएर अकाल मृत्त्युको सामना गर्न प्राणि जगत विवश बनि रहेको छ र यसको परिणाम स्वरूप पृथ्वीवाट कति जीव प्रजाति हरु लोप हुन् लागि सकेको तथ्य हाम्रा सामु छर्लंग छ !बैज्ञानिकहरुले आज प्रमाणित गरि सकेका छन् की यसका कारक तत्वहरुमा प्रमुख भनेको मानिसले प्रयोग गर्ने बिषादीहरुनै हो !
       आर्थिक दौडमा मस्त मानिस जसरिपनि जमिनको बढी भन्दा बढी दोहन भन्दा पनि शोषण गरेर उत्पादन अधिकतम रुपमा लिएर छिट्टै स्वर्ण आर्जन गर्न उद्यत् रहेको देख्न सकिन्छ !यसको लागि उ उपलब्ध सबै श्रोत साधन प्रयोग गर्न हिचकिचाउँदैन चाहे त्यसले जस्तो सुकै हानि नोक्सानी पुरयाओस !आजको मानिस हरेक क्षेत्रमा आफ्नो अधिकार प्राप्तिको सवाललाई मात्र उछाल्न प्रयत्नरत पाइन्छ ,आफ्नो अधिकार प्राप्तिकोको लागि अघि बढ्ने क्रममा अरुको अधिकार कुल्चिन पनि उ पछी पर्दैन !बिषादीहरुको प्रयोग जति बढी भै रहेको छ जीवजगतका लागि हानिकारक किटाणुहरुमा बिषादी पाचन क्षमतामा त्यतिनै वृद्धि भै रहेको छ र फल स्वरूप बैज्ञानिकहरु अझ कडा बिषादीहरु उत्पादन गर्न बाध्य भै रहेको खबर हरु दैनिकी जसो पत्र-पत्रिकाहरुमा पढ्न पाई रहेको यथार्थ पनि हामिसामु छिपेको छैन !सबै कुरा थाहा हुँदा हुँदै हामि पनि यसरि उत्पादित पदार्थहरु पैसा तिरेर उपभोग गर्न विवशनै छौं !स्वास्थ्य लाभको उद्देश्यले ताजा बिषादी छिटेका फलहरु किनेर खादै आत्मरतिमा रहेर आफ्नो मुटु ,फोक्सो ,कलेजो जस्ता अमुल्य अंगहरुको क्षमता ह्रास गराउन बाध्य छौं !
         आजको मानिस पूर्णरुपले यान्त्रिक बन्न तर्फ उद्यत् देखिन्छ !जव चैतान्यलाई विज्ञानले निर्देश गर्छ , त्यसै अनुरुप यसका उपलब्धिहरु हासिल गर्दै जाइन्छ, निश्चित रुपमै सन्सार दुखि बन्दै जान्छ र विनाशकारी परिणाम हरु देखिंदै जान्छन र मानिस दिनानुदिन अझ बढी यान्त्रिक बन्दै जान्छ !तर जव बिज्ञानलाई चैतन्यले कार्य गराउँछ तव यसका उपलब्धिहरु सम्पूर्ण विश्वको कल्याणमा हुन्छ र यसवाट सुखी र स्वस्थ विश्व निर्माण हुन सक्छ !याँहानेर म नाटकसम्राट बाल कृष्ण सम लाई सम्झिन चाहान्छु ,जसले यसको मर्म गहिरो तवरले आत्मसात गरेरनै शायद भनेका छन् .."ज्ञान मर्दछ हाँसेर ,रोई बिज्ञान मर्दछ !"याँहा मलाई लाग्छ समले ज्ञान भनेर मानवको चैतन्य तर्फनै ईशारा गरेको हुनु पर्छ !आज बिज्ञान जति बढी विनाशकारी उपलब्धिहरु हासिल गर्दै अघि बढ्दै गई रहेको त्यतिनै आफ्नो विनाशलाई हेरेर रुन लागेको अवस्था छ ,त्यसैलेत समय समयमा प्रलय र बिनाशका कुराहरु गरेर त्रास फैलाउने काम हरु भै रहेका छन् !
           मानव सभ्यताको बिकाशक्रमलाई गहिरोगरी हेर्ने हो भने आदिम युग भन्दा बर्तमानको मानवमा नैतिक मूल्य-मान्यताको खडेरी परेको तथ्यलाई स्पष्ट देख्न सकिन्छ !एउटा सानो उदाहरणको रुपमा सभ्यताको बिकाश हुदै जाने क्रममा जव जव बस्तु साटा-साट(Barter system ) प्रणालीवाट समाज व्यवस्था चलाउन अफ्टेरो महसुस हुन् पुगो मुद्रा प्रचलन शुरु भयो !त्यस समयमा साना-साना फलामका टुक्राहरूलाई राजमुद्राको रुपमा मान्यत्ता दिएर चलन चल्तीमा ल्याइन्थ्यो जुन एउटा सामान्य लोहारले तयार गर्थ्यो र उसले चाहेको खण्डमा त्यस्ता मुद्राहरु जतिपनि बनाउने क्षमता राख्थ्यो !तर त्यस समयमा मानिसमा रहेको नैतिक मूल्य-मान्यताले ति कामहरु कहिलेइ हुन दिंदैनथ्यो भलै त्यो पाप अथवा ईश्वरको डरले नै किन नहोस ,एक पटक गम्भीर भएर सोचौंत आजको मानिसले त्यो व्यवस्था हुने हो भने के कस्ता कार्यहरु गर्ला !कत्ति हैरान गरेर पनि सफल हुन गाह्रो पर्ने कागजी मुद्राहरुको पनि जाली नोट तयार गर्न उद्यत् छ आजको मानिस !ई सबै परिणामहरूको जरो भनेकोनै मानवचेतना यान्त्रिक बन्दै जानुनै हो र चैतन्य बिज्ञानवाट परिचालित हुनु हो !त्यसैले आजको मानव यान्त्रिक बन्दै गएको कारणले पाप अथवा ईश्वरको डरवाट मुक्त छ !
                        बिज्ञान स्वयं आँफै रुदै आफ्नो विनाशको उद्घोष आँफै गरि रहेको परिप्रेक्षमा पनि बिज्ञानका उपलब्धि हरुवाट उन्मत्त आजको मानिस भने आफ्नो अधिकार प्राप्तिको लड़ांई यसरि लडी रहेको छकी त्यस युद्धमा उसले अरुको सह अस्तित्व र बाँच्न पांउने अधिकार समेत लाई बेवास्ता गरि रहेको छ !आफ्नो अधिकार प्राप्त गर्नको लागि अरुको हत्या समेत गर्न उ पछी पर्दैन !बलिया र पंहुच हुने हरुले निर्धाहरुलाई सताउनु सामान्य कुरो भई सकेको छ !जनताको जिउ-धनको सुरक्षाको जिम्मेवारी लिएर बसेको सरकार अथवा राज्य संयन्त्र समेत यात त्यस्तै शक्ति प्रदर्शकहरुको साथ् दिने या निरिह मुक दर्शकको भूमिका निर्वाह गरि बस्ने र आफु टिक्ने सवालमै केन्द्रित रहेको देख्न सकिन्छ !अन्धो कानुन जुन कृतिम साक्षी र एउटा व्यक्तिको दिमागी उपजको आधारमा न्याय सम्पादनको कार्य गर्छ त्यो पनि शक्तिशालिहरुको पकड वाट मुक्त हुन नसकेको अवस्थानै रहेको यथार्थ भनि रहनु पर्ला जस्तो लाग्दैन !यसको लागि तल एउटा सानो उदाहरण प्रासंगिक सम्झेर प्रस्तुत गर्ने जमर्को गरेको छु ,
                                  "तपाइंको छिमेकी एउटा धनी किसान छ !उ खेति गरेर धेरै उत्पादन समेत गर्छ !प्रचुर अर्थोपार्जन गर्न सफल उसले बिभिन्न प्रकारका बाली हरु र बेमौसमी खेति हरु गर्छ जसको लागी बढी भन्दा बढी हानिकारक रासायनिक मल खाद र किटनाशक बिषादी हरु प्रयोग गरि रहेको र प्राणिस्वास्थ्यमा प्रतिकुल असर परि रहेको कुरो तपाँई राम्रोसंग जान्नु हुन्छ !उसलाई पनि ई कुराहरु राम्रैसंग थाहा छ तै पनि सम्झाउने उद्देश्यले उ संग यसो गर्नु नहुने कुराहरु भन्नु हुन्छ उसले त्यसो नगरे उत्पादन नहुने तर्कहरु राख्ला ,तपाईं जैविक मल- बिषादी प्रयोगको सल्लाह दिनु होला !वाद-विवाद बढ्दै जाने क्रममा सम्पत्तिको उन्मादले मैमत्त भएको छिमेकीले हार स्वीकार्न चांहदैन र अन्तिममा तपाईंलाई जवाफ दिन्छ ...म आफ्नो जग्गामा जेसुकै गरौँ ,तपाँईलाई के मतलव ?"कानुनमा जानु भयो भने कानुनले पनि उसैको पक्षमा निर्णय दिन्छ !"
                                  माथि उल्लेखित सवालहरुमा गम्भीरतापुर्वक बिचार गर्दा यी सबै समस्याहरुको निराकरण भनेको एकमात्र "अध्यात्म चिन्तन "(spiritual thinking )नै हो भन्न सकिन्छ ,जसले आफ्ना कार्यहरुको आफै मुल्यांकन गर्न सिकाउछ र निरन्तर अंतर्यात्राको लागि अभिप्रेरित गर्दै नैतिक मुल्य-मान्यताको बोध गराई आफु अथवा आफ्ना सन्ततिलाई समाजमा ठाडो शिर लिएर हिड्न सक्ने तुल्याऊंछ !त्यसैले आजको आवश्यकता भनेको नै नैतिकताहो र यसको लागी सबैले आ-आफ्नो ठांउवाट सक्दो प्रयास जारि राखौं !त्यसैले अन्तिममा फेरी एकपटक नाटककार सम लाई याद गर्न चाहान्छु जसले भनेका छन् ..."ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा "जसको आशय भनेको विज्ञानलाई चैतन्यले निर्देश गर्नुनै हो भन्ने मलाई लाग्छ !अस्तु .....
 Budhi Prasad Upadhyaya

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..