![]() |
| गणेश जीसी |
पौराणिक कथामा बर्णित च्यवनऋषि विद्यमान आयुर्बेदिक बिज्ञान र कठोर तपश्चर्या धर्ममा सुपरिचित नाम हो । त्यस्तै पातिव्रत्य धर्ममा सुकन्या पनि अग्रपंक्तिमा पर्दछिन् । वर्तमान भौतिकबादी युगमा पौराणिक कुराहरुमा त्यति विश्वास नहुने भए तापनि एक समर्पित इमान्दार दाम्पत्य जीवनमा तिनीहरुको कथा प्रेरणादायी र रोचक छ । एकादेशमा वैवश्वत मनुपुत्र सर्याति नामका राजा राज्य गर्दथे । उनको राजप्रासाद रहेको शहर देखि केही पर सरोबर सहितको एउटा सुन्दर अरण्य थियो । त्यो सुन्दर अरण्यमा कमल, केतकी, अशोक, बर, पिपल, हर्रो, बर्रो, अमला आदि बृक्ष र मेवा, अम्बा, अजुर, जामुन, भुइकटहर आदि फलफूलहरु लटरम्म थिए । त्यस अरण्यमा एउटा कञ्चन जलयुक्त बिशाल सरोवर थियो । त्यहाँ हंश,सारस,बकुल्ला आदि जलपंक्षीहरु विहार गर्दथे मनमोहक वातावरणमा । जुन राजा शर्यातिको जलक्रिडा गर्ने स्थल थियो ।
