दामोदर नेपाल
काठमाडौ
धेरै वर्ष अघिदेखि समयको पदचापमा
राष्ट्रियता खोज्दै आएँ
प्रथमतः आफ्नै परिवारमा खोजेँ
त्यहाँ दैनिन्दिनीको कलह मात्र पाएँ
अलि पर गाउँघरमा खोजेँ
स्वार्थका खातिर तँछाड मछाड देखेँ
कुलीनता र नीचताका पर्खालहरुले छेके,
अझै चित्त नबुझी भौंतारिंदा सुनेँ
राष्ट्रियता शहरमा पाइन्छ रे !
गोष्ठी र सेमिनारभरि
पाँचतारे होटलमा छरिन्छ रे !
हिउँद गुजार्ने अन्न बेची
बाटो खर्चको कुम्लो कसेर शहर पसेँ
शहरका गल्लीहरुमा चाहार्दा चाहार्दै
गोजि रित्याएँ
तबमात्र थाहा पाएँ
ऊ त गाऊँ फर्किएछ,
मगन्तेको भेषमा गाउँ फिरेँ
प्रत्येक भित्ताहरुमा टाँगिएको रहेछ
नेताहरुको बोलीमा झुण्डिएको रहेछ
मख्ख पर्दै उसैको पछि दगुरें
खोजेको वस्तु पाएको खुशिमा
मत पेटिका भरेँ
तर अफसोस्
ऊ त मेरै मतले
दक्षिण वा पश्चिममा बन्दकी भएछ,
फिर्ता ल्याउने कोशिशमा
गाउँको बिर्खे जङ्गल छिरेछ
डाँडापारिको भुण्टे
सेनामा भर्ती भएछ
उपल्लो गाउँको भोजे दिग्दार भई
मुग्लानिएछ
गाउँका डिट्ठा र ठाकुरहरु
शहर पसेछन्
भुण्टे र बिर्खेको हानथापले
पिल्सिएको म
अन्यौलको भूमरिमा परी
छातिमा हात राखेर आँखा चिम्लिंदा
मेरो प्यारो राष्ट्रियता
घाटे वैद्यकहाँ लम्पसार पो रहेछ ।
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..