Wednesday, October 31, 2012

दशै


प्रेम वलि

 पोहर पनि आयौ
परार पनि आयौ
यसपाली
कुनै हालतमा नआउनु भनेकोथे
तिमी यसपाली झन
गर्बकासाथ गडगडाट आयौ
आउनु नै थियो भने  पनि
जनकपुरको रेल झै
बिस्ताsssssरै आउनु नि
तिमी अल्लारे ठिटाठिटी झै
ढकढकाट  आयौ
यदी आउने नै हो भने पनि, आउँदा
पोहरको जस्तो बोइलर कुखरा
लोकल ठर्रा होइन
खसी बोकाको साथ
व्हुस्की बियर  ल्याउनु
पोहरको जस्तो ऋण लगाउने होइन
आउँदा टन्न गाठ लिएर आउनु

परार जस्तो
फाटेको टोपी
अनी टालेको सुरुवाल होइन
सर्बहारा नेताले जस्तो
टाइसुट बिदेसी बुट ल्याउनु
नेता फुटे पनि
पार्टी टुटे पनि
जनतामा सदा एकजुट ल्याउनु 

भोको पेटलाई  के थाहा संबिधान
सक्छौ भने यसपाली आउँदा
संबिधान भन्दा पनि
मिठो मसिनो मन्सुली धान ल्याउनु
बजार भाउ बढेर बिछ्ट्टै
सक्छौ भने
दसैं भरिलाई
सस्तो बजार भाउ ल्याउनु
तर आउँदा
काठमान्डौको सडक टालेको जस्तो
टाल टुले भएर नआउनु
लाउरेको जस्तो
ठुलै तामझाम लिएर आउनु

तिमीलाई सक्थे भने
फलामे बार लगाएर छेक्थे
जाली तार लगाएर रोक्थे
अझ सक्थे भने
तिमीलाई थुन्न चिडियाखाना  नै लग्थे
पैसा हुनेलाई तिमी
भोज मोज गर्ने बहाना
पैसो नहुनेलाई तिमी
गरीबको घरमा बाबुराम पहुना
धनीले  अनुहार बिगारे पनि
कमसेकम गरीबले ताली ठोक्थे

अब आइहाल्यौ आगनमा
सके खसी बोका
नसके ठुलो खसी भए पनि ल्याउनु
यो पाली  ससुराल जादा
बस भाडा मात्र उठ्ने गरी होइन
खल्ती दरो हुने गरी छाउनु
बोइलरले वाक्क भएको ज्यान
खसी बोका नके पनि
कमसेकम लोकन कुखुरा खोवाउनु

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..