Friday, October 15, 2010

दशैं

    दशैंलाई बडा दशैं, दशहरा, दश्या, नव रात्री ,विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ। यो नेपाली  हिन्दू धर्माओलम्बि हरुको सबै भन्दा ठुलो र प्रमुख चाड हो । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेकाथिए। यसलाई असत्यमाथि सत्यको विजयको रूपमा मनाइन्छ। यसकारण यस दशमीलाई विजयादशमीको नामले जानिन्छ। दशैं वर्षका तीन अत्यन्त शुभ तिथिहरुमा एउटा हो अरु दुइवटा हुन् चैत्र (चैत)को शुक्ल प्रतिपदा तिथि (चैते दशैं) एवं कार्तिक शुक्लको प्रतिपदा तिथि (तिहार) । यी दिनहरुमा हिन्दूहरु नयाँ कार्य शुरु गर्दछन्, शस्त्रको पूजा  गर्दछन्। प्राचीन कालमा राजाहरु यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे भन्ने किम्बदन्ती छ । यस पर्वमा ठाउँ-ठाउँमा मेलाहरु लाग्थे । अहिले पनि नेपालको तराइ क्षेत्रहरुमा र भारतमा रामलीलाको आयोजन हुन्छ । रावणको विशाल पुतला बनाएर जलाइने गरिन्छ । विजयदशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दू संस्कृति  वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव (पर्व) शुरु भएको हो । दशैं पर्वले दश प्रकारका पापहरु- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ । हामी सबैलाई यस पर्बले सद्बुद्दी प्रदान गरोस । माता दुर्गाले हामी सबैको रक्षा गरुन ।

'या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः'
शुभ विजया दशमीको उपलक्ष्यमा सहयात्री साथीहरु, ब्लगर साथीहरु लगाएत यस ब्लगका पाठक र सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
साहित्यबाटिक परिवार

1 comment:

  1. मेरो पनि सबै साथीहरुलाई आउदै गरेको बडा दशैंको हार्दिक मंगलमय शुभकामना ..।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..