Thursday, June 14, 2012

च्यवनऋषिको तपस्या र सुकन्याको पातिब्रत्य धर्म

गणेश जीसी
पौराणिक कथामा बर्णित च्यवनऋषि विद्यमान आयुर्बेदिक बिज्ञान र कठोर तपश्चर्या धर्ममा सुपरिचित नाम हो । त्यस्तै पातिव्रत्य धर्ममा सुकन्या पनि अग्रपंक्तिमा पर्दछिन् । वर्तमान भौतिकबादी युगमा पौराणिक कुराहरुमा त्यति विश्वास नहुने भए तापनि एक समर्पित इमान्दार दाम्पत्य जीवनमा तिनीहरुको कथा प्रेरणादायी र रोचक छ । एकादेशमा वैवश्वत मनुपुत्र सर्याति नामका राजा राज्य गर्दथे । उनको राजप्रासाद रहेको शहर देखि केही पर सरोबर सहितको एउटा सुन्दर अरण्य थियो । त्यो सुन्दर अरण्यमा कमल, केतकी, अशोक, बर, पिपल, हर्रो, बर्रो, अमला आदि बृक्ष र मेवा, अम्बा, अजुर, जामुन, भुइकटहर आदि फलफूलहरु लटरम्म थिए । त्यस अरण्यमा एउटा कञ्चन जलयुक्त बिशाल सरोवर थियो । त्यहाँ हंश,सारस,बकुल्ला आदि जलपंक्षीहरु विहार गर्दथे मनमोहक वातावरणमा । जुन राजा शर्यातिको जलक्रिडा गर्ने स्थल थियो ।
      एकदिनको कुरा राजा शर्याति सुन्दरीहरु र अनुचरहरुका साथ जलविहार गर्न त्यस सरोवरमा पुगेर जलक्रिडा गरिरहेका थिए । गरगहनायुक्त उनकी छोरी सुकन्या पनि आफना सखीहरुका साथ जंगल बिहार गर्दै त्यही सरोवरको तटमा पुगिन । त्यहाँ नजिकै च्यवनऋषि तपस्यामा यति अनुरक्त थिए कि उनको शरीरमा धमिराले गोलो लगाइसकेको थियो । गोलोको एकछेउमा केवल दुईवटा आँखा स्फटिक जस्तै टल्किरहेका थिए । त्यो देखेर सुकन्याले के रहेछ भनी छेस्काले घोच्न थालिन । तत्कालै ऋषिको आवाज आयो “के गरेकी सुन्दरी ? यो मेरो आँखा हो , किन घोचेको ?”भनिरहेका रहेछन् तर माटा ढिस्काभित्रबाट निस्किएको आवाज स्प्रष्ट नसुनेर तीखा छेस्काले घोचिदिएकाले उनको आँखा फुट्न गएछ । देवीभक्त तपसी च्यवनऋषि पीडाले कराए अइया गरे । त्यसपछि जलक्रिडामा आनन्दरत भएका राजा शर्यातिको र अनुचरहरुको समेत पिसावनली बन्द भएको आभास भएछ । र उनले ध्यानदृष्टिले हेर्दा सरोबरको छेउको अरण्य(जंगल)मा तपस्यारत कुनै ऋषिमुनीलाई कसैले पीडा पारेको र उनको श्रापले यो अनिष्ट भएको अनुमान लगाएछन् ।
          मौजुदा सबैबाट धेरै खोजी अनुसन्धानबाट पत्ता लाग्यो कि उनकै छोरी सुकन्याबाट गल्तीबस तपस्यारत च्यवनऋषिको आँखा फुट्नगएको रहेछ । तत्कालै उनी गएर छोरीको तर्पmबाट माफी मागे । “भूलबस मेरी अज्ञान बालिका छोरीबाट यस्तो अनिष्ट भएछ माफ पाउँ मुनी ”भनेपछि ऋषिले “म रिस र आवेग भएको मुनी हैन । मैले केही भनेको छैन । किन माफ माग्नु प¥यो र ?हुन त देवीभक्तलाई अनादर गर्नेलाई केही अनिष्ट त हुन्छ नै । तथापि मैले केही भनेको छैन । तपाइकी छोरीले गर्दा म त अन्धो भएँ । मेरो सेवा अव कसले गर्छ ? यो अपराध क्षमा गर्न स्वयं देवी र शिवजी वाहेक अरु कसैले सक्तैन । यदी तपाई धर्म चाहनु हुन्छ भने तपाइकी छोरीलाई मेरो सुसार गर्न पठाइदिनुस । ” ऋषिमुनीको यो वाक्य सुनेपछि शर्याति राजा ठूलो धर्मसंकटमा परे । मेरी सुन्दरी छोरी यस्ता बृद्ध अन्धा ऋषिलाई दिउँ भने कसरी दिउँ ? नदिउँ भने श्रापको डर भयो । अनि आफना बाउरे मन्त्रीहरुसंग सल्लाह मागे । बृहत छलफल भयो । अन्ततः बृद्ध च्यवनऋषिलाई सुन्दरी राजकुमारी सुकन्या नदिने सर्वसहमत निर्णय भयो ।
            परन्तु राजकुमारी सुकन्याले स्वयंले ऋषिप्रति आफूबाट भएको भूलको प्रायश्चितको लागि आफू ऋषि सेवामा समर्पित हुने दृढ सहमति बाबु समक्ष राखिन् । बाबुको मनको संकट समाधानको बिकल्प पनि यो भन्दा अरु थिएन । छोरीको आत्म निर्णयले शर्याति राजाको चित्त केही बेरको लागि शान्त भए तापनि उमेरको आमूल असमानता र छोरीको शारीरिक सुन्दरता प्रति गम्भीर विचार विमर्श गर्दा उसको कुरा अस्वीकार गर्ने निर्णय गरे । तथापी छोरीको हठबाट विचलित भई आफनो निर्णय फिर्ता लिन राजा बाध्य भए । अन्तत्वगत्वा सुकन्याले श्रापमोचन र पुण्य प्राप्तीका लागि तपस्वीऋषिलाई पतिको रुपमा वरण गर्न सप्रसन्न राजी भई सेवा गर्ने प्रण गरिन् । छोरीकै मनसुवा अनुसार शर्याति राजाले राजकीय विधिपूर्वक विशिष्ट पाहुनाहरु आमन्त्रण गरी भव्यता पूर्वक तपस्वी च्यवनऋषिलाई सुकन्याको कन्यादान गरी यथेष्ट दाइजो प्रदान गर्न खोजे । अन्ततः जाने बेलामा ऋषि च्यवनले केवल सुकन्याको पाणी मात्र ग्रहण गरे । दाइजो जति सबै राजालाई फिर्ता गरिदिए ।
               ततपश्चात राजा शर्याति तथा उनका अनुचरहरु जजसको मलमुत्रादि रोकिएको थियो सो सबै खुले,कन्यादानकै क्रममा । र संकट समाधान भयो । सुकन्याले पनि आफूलाई दिइएको सबै गरगहना बाबुलाई फिर्ता दिएर ऋषिसंग तपस्वी ऋषिले पहिरिने भोजपत्र र मृगचर्मादि पतिसंग माग्दै जीवनभर पातिव्रत्य धर्माचरणमा रहने प्रण व्यक्त गरिन् । यसरी त्यसै दिन देखि राजकुमारी सुकन्याले पिताको भव्य आलिशान राजप्रासाद परित्याग गरी अन्धा पति च्यवनका साथ ऋषिपत्नीको भेष धारण गरी अरण्यतिर लागिन् । जंङगलमा रहेको ऋषि आश्रममा रहन लागिन् । पति सेवाको क्रममा फलफूल टिपेर ल्याउने,जो मिलेको भोजन बनाएर पतिलाई खुवाउने,पतिको हरेक आज्ञा पालन गर्ने,बिस्तरा लगाइदिने ,शौचादि कृया र स्नान गराइदिने,पूजा सामग्रीहरु तयार पारिदिने आदि सुकन्याको नित्य चर्या थियो ।
            एकदिन सूर्यपुत्र अश्विनी कुमारहरु जलक्रिडा गर्दै च्यवन मुनीको आश्रममा आइपुगे । भर्खर स्नान गरी कमण्डलुमा जल लिएर आफनो आश्रममा आइरहेकी सर्बाङग सुन्दरी सुकन्यालाई देखेर ध्यानाकर्षित भई परिचय मागे । “तिमी यस्ती सुन्दरी,गहनादिपूर्ण भई दरबारमा बस्नपर्ने कुनै राजकुमारी जस्ती लाग्छ्यौ । यस्तो तपस्वी भेषमा ? यो त ज्यादै नसुहाउने रहिछ तिमीलाई । आखिर तिमी कोहौ सुन्दरी ?” प्रत्यूत्तरमा सुकन्याले आफनो सबै इतिबृतान्त परिचय दिइन् र आगन्तुकको परिचय माग्नुका साथै आउनाको कारण सोधिन । आगन्तुकले परीक्षात्मक रुपमा प्रस्ताव राखे– यस्ती सुन्दरी राजकुमारी यस्ता बृद्ध ऋषिसंग यति लामो जीवन कसरी व्यतीत गछ्र्यौ ?तिमीलाई विधाताले ठगे जस्तो लाग्यो । बरु हामी सूर्यपुत्र हौं । हामी दुई मध्ये एकलाई बरण गर । उनीहरुबाट यस्तो निकृष्ट अभिव्यक्ति सुन्ने वित्तिकै पतिव्रता सुकन्या क्रोधको पराकाष्ठामा पुगेर सत्यबादी वाकाग्नी उनको मुखारविन्दबाट प्रस्फुटन भयो । तुरुन्त दग्ध गराइहाल्ने जस्तो मुद्रामा भनिन्– “तपाईहरु सूर्यपुत्र भएर म पतिव्रता नारीलाई यस्तो निच तुच्छ कुरा गर्ने ? तुरुन्त यहाँबाट गइहाल्नु हुन्छ कि श्राप दिउँ ।” त्यसपछि संयमित हुँदै उनीहरुले रहस्योद्घाटन गर्दै भने–भो भो सुन्दरी, हामी तिम्रो आत्मोत्कर्ष देखि प्रभावित भयौं । अब तिम्रो पतिलाई बोलाउ हामी तिम्रो पतिलाई नयाँ रुप दिन्छौं । सुकन्याले आफना अन्धा पतिलाई बोलाएर उनीहरु सामु उपस्थित गराइन् । अनि उनीहरुले तीनैजना पानीमा डुबौं भनी तम्साए । तीनैजना पानीमा डुबेर उत्रिदा सबै एकै रुपमा प्रकट भए । अन्धा बृद्ध च्यवन पनि सर्बाङग सुन्दर भए । त्यसपछि उनीहरुले पुनःसुकन्याको परीक्षा लिए– “हामी मध्ये कसलाई रोज्छ्यौ ”भनेर ।
प्रतिब्रता सुकन्याले आफनो पतिलाई चिनिहालिन् । च्यवनऋषि कृतकृत्य भई बैद्य दाजुभाईलाई पहिले इन्द्रले सोमरस पान गर्ने अधिकारबाट बञ्चित गराइएकोमा सो अधिकार दिलाउने आश्वासन दिए ।
         पौराणिक कथन अनुसार देवीको तपस्याको प्रभावले वा प्रतिफल स्वरुप स्वर्गका बैद्य अश्विनीकुमारहरुद्वारा बृद्ध र अन्धा च्यवन ऋषि सुन्दर युवक बनेकोले उनीहरुको आयुर्बेदिक बिद्या सफल हुनुको साथै उनीहरुकै बान्छित सोमरस (सोमलता भन्ने मादक वनस्पति लहराबाट बन्ने रस ,सम्भवतः अहिलेको जाँड बनाउने औषधी ) प्राप्त गर्न लालायित तर इन्द्रले आफू बाहेक अरुलाई निषेध गरेकोले दुर्लभ भएको सो बस्तु च्यवन मार्फतनै प्राप्त हुने देखेकोले पनि अश्विनीकुमारहरुले च्यवनको उद्धार गरेको हुनसक्छ । अरु कुरा जे भएपनि स्वच्छ पानीबाट च्यवन ऋषिले नयाँ जीवन पाएको र च्यवनको सहयोगमा सूर्यकुमारहरुले सोमपान गर्न पाएको तथा त्यहीँ देखि च्यवनले सकृयरुपमा आयुर्बेद विज्ञानमा सकृय रुपमा लागेको भन्ने पनि बुझिन्छ ।
            प्रस्तुत गर्न खोजिएको प्रमुख बिषय सुकन्याका बारेमा भन्नु पर्दा उनी जस्ता कठोर पतिव्रता नारीहरु पुराणमा धेरै पाइन्छन् । जस्तै सती, अनुसुया, अरुन्धती, सावित्री, दमयन्ती र मदालसा आदि । एकार्थमा पातिव्रत्य धर्म निष्ठता भनेको बिश्वसनीयता र गहिरो आत्मीयता हो । यो नहुनु भनेको बिश्वास गुमाउनु वा विश्वासघात हो । विश्वास गुमाउनु भनेको सर्वस्व मानवधर्म गुमाउनु हो । पतिपत्नी बीचको अन्तर सम्बन्ध भनेको केवल काम वासना तृप्ति मात्र हैन । यो सार्वलौकिक सम्बन्ध जीवन पर्यन्तको शाश्वत ,नैसर्गिक मित्रवत सम्बन्ध पनि हो भन्ने कुरा मधुसत्य हो । यस्तो बिश्वसनीयता धर्मनिष्ठता पत्नीको मात्र कर्तव्य पालनको बिषय नभएर पतिमा पनि हुनु आवश्यक छ ।

            हाम्रो समाजमा पत्नीले एक पति, सम्पूर्ण जीवन भनेर पतिको नाममा कठोर ब्रतहरु बस्ने तर पतिले चाँही जति मन लाग्यो स्वास्नी ल्याउन हुने, चित्त नबुझेपछि केही प्रतिबाद गरे मुख लागेको निउँमा बेस्सरी भकुर्न हुने, लोग्नेले आफूले मन लागेको जे पनि गर्न हुने घर संसार चलाउन,सफलपूर्वक अगाडि बढाउन स्वास्नीले दिएका सकारात्मक सुझावहरु पोथी बासेको अनिष्ट हुन्छ भनेर भाले बनेको लोग्नेलाई अपाच्य हुने, घरको सारा जेथाको हकदार लोग्ने मात्र हुने स्वास्नीको हातमा लोप्पा मात्र । अझ त अर्को दुःखद कुरा नौ महिनासम्म गर्भको भारी धानेर जीवन मृत्यु सीमामा रही कठोर प्रसव बेदना सहेर सन्तानको जन्म दिने,परन्तु त्यही सन्तानमाथि आफनो हक नभएर सन्तान दर्सन्तान बाबुको मात्र हक हुनु, कति असमान, वभेदकारी, अन्यायपूर्ण सामाजिक संस्कार हो ? असल मान्छेका निम्ति नैतिकता वा चारित्रिक छवि उसको प्रतिच्छायाँ हो । यानीकी मुभी क्यामेराको दृश्य हो । जहाँ ऊ जान्छ,जस्तो उसले कृयाकलाप प्रस्तुत गर्छ उस्तै दृश्य प्रतिच्छाँयाले पछ्याइरहेको हुन्छ । यानीकी मार्ग निर्धारण पनि गरिरहेको हुन्छ,असल वा खराब । सहज वा बिकट ।
        ६ लेनको राजमार्ग वा भीरको डोरेटो । साथ सबै प्राणी जातिलाई चाहिन्छ । एकल जीवन कसैलाई पनि रुचिकर हुदैन । त्यसमा पनि मानव स्वतः सामाजिक प्राणी हो । जन्म देखि मृत्यु पर्यन्त ऊ समाजमै रहन्छ । समाजमा घुलमिल हुने क्रममा विविध रुप,विविध रङग,घटना,परिघटनाका बीच उसको जीवन चक्र गुज्रीरहेको हुन्छ । सयौं पानाको आलेख ग्रन्थ जस्तै चैतन्यशील मानवका स्मृतिका पानाहरु हुन्छन् । नयाँ पानाहरु थपिदै जाँदा पुराना पानाहरु कतिपय च्यातिदै जान्छन् , थपिदै जान्छन् ,जीवन र जीवनका सारा उपक्रमहरु,अवयवहरु सञ्चालन गर्ने इन्धनरुपी एकमुठी प्राण रहुञ्जेलसम्म । जब मृत्युरुपी एकमुठी प्राण गाडीको टायरको हावा सकिए झैं फुस्स सकिएर शून्यमा बिलीन हुन्छ ,तव मानिसको जिन्दगीका पानाहरु पनि  सकिन्छ । त्यस मध्ये मानवले जीवन पर्यन्त केही कीर्ति कमाउन सकेको छ भने त्यो प्रेरणादायी अमर इतिहास बनेर पुस्तौंपुस्ता,सन्तान दरसन्तानसम्म रहन्छ अन्यथा तत्कालीन परिवारको लागि आँशुका थोपा बाहेक मृत्यु परान्त अरु केही बाँकी  रहन्न । मृत्युपर्यन्त प्रकाश भएर बाँचिरहने÷इतिहासमा अंकित भइरहने कीर्ति धेरै प्रकारका हुन्छन् । जस्तोः साहित्यिक, कला, सांंगीतिक, सामाजिक, सांस्कृतिक र उच्च ओहदामा पुगेको तथा बिशेष योगदान पु¥याएको राजनीतिक क्षेत्र । सुकन्यादि नारीहरु काम बासना भन्दा माथि चारित्रिक, नैतिक, आस्था र मानवीय कर्तव्यतालाई, परोपकारितालाई महत्व दिएर । प्रेरणादायी र कालजयी हुन चाहने ऐतिहासिक नारी हुन । परोपकारिता ÷मानवीयता मानवलाई अजर अमर बनाउने मूल साधन हो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..