Tuesday, August 28, 2012

गजल प्रतिभा पुरस्कार गजलकार समीपलाई

रुपिन्द्र प्रभावी
पोखरा, भदौ ९ गते ।
गजल सन्ध्या पोखराले हरेक वर्ष मोती जयन्तीको अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कारबाट यस वर्ष गजलकार दीपक समीप सम्मानित हुनुभएको छ ।

शनिबार पोखरामा आयोजित एक विशेष समारोका बीच समीपलाई पुरस्कार प्रदान गर्दै वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजलप्रति अझै पनि नाक खुम्च्याउनेहरुप्रति असन्तुष्टि प्रकट गर्नुभयो । पौडेलले पोखरेली गजलकार समीपले नयाँ पुस्तामा गजललाई भिजाउनका लागि खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभयो ।

पुरस्कृत प्रतिभा समीपले पुरस्कारले आफूलाई लेखनमा अझ उर्जा थपेको भन्दै साहित्यमा अझ सक्रियतापूर्वक लाग्ने बताउनुभयो । आफूले साहित्यलाई धेरै दिन बाँकी रहेको भन्दै कठिन साधनाबाट मात्र राम्रो साहित्य सिर्जना हुन सक्ने विचार समीपले राख्नुभयो ।
प्रतिभा छनोट समितिका संयोजक ईश्वमणि अधिकारीले दीपक समीपले पोखरेली गजललाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउन अतुलनीय योगदान दिनुभएको बताउनुभयो । गजलकार मनोज न्यौपानेले गजलकार समीपले जुनसुकै विधामा लेखे पनि डुबेर लेख्न सक्ने लेखक भएको बताउँदै यो पुरस्कारले सिङ्गो गजल क्षेत्र पुरस्कृत भएकोमा जोड दिनुभयो ।

सन्ध्याका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा भएको सो समारोहमा प्राज्ञ हरिदेवी कोइराला, दुर्गाबहादुर शाह ‘बाबा’, इन्द्रकुमार विकल्प, भीम रानाभाट, कृष्ण देवकोटा, मदन भण्डारी, लक्ष्मण थापा, रुपिन्द्र प्रभावी कटु, बिर्सना बस्नेत, सचिव सुरेन्द्र पौडेललगायतले बोल्नुभएको थियो । समीपलाई अधिकांश वक्ताहरुले पोखरेली गजलको सारथिका रुपमा चित्रण गर्नुभएको थियो ।

वि. सं २०३३ जेठ १६ गते लमजुङमा जन्मिनुभएका गजलकार समीपले झण्डै दुई दशकदेखि नेपाली साहित्यमा साधना गर्नुभएको छ । उहाँको ‘भूगोलभित्र नकोरिएको देश’ गजलसङ्ग्रह प्रकाशित छ जसले गजल साधना सम्मान तथा पुरस्कार प्राप्त गरेको थियो । विशेष गरी पोखरेली गजलको संस्थागत विकास गर्न उल्लेखनीय भूमिका खेलेको मानिने समीप यसअघि उत्कृष्ट लघुकथाकार पुरस्कार, उत्कृष्ट मुक्तककार पुरस्कार, समता काव्य सम्मान, अनलाइन अन्तर्राष्ट्रिय साहित्य पुरस्कार, शिल्पी साहित्य सम्मानलगायतले पुरस्कृत भैसक्नुभएको छ ।

सोही दिन गजल सन्ध्याले हरेक महिनाको दोस्रो शनिबार गर्दै आएको नियमित गजल वाचनको ११४औं शृङ्खला पनि सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..