Tuesday, March 13, 2012

प्रतिबन्धित पुस्तक को अछुत र विनोदीको चर्चा भयो पोखरामा


रुपिन्द्र प्रभावी
पोखरा, फागुन २७ गते
        ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालले आफ्नो सत्रौं पुस्तक परिचर्चा कार्यक्रममा पं मुक्तिनाथ शर्माको उपन्यास को अछुतको परिचर्चा शनिबार पोखरामा सम्पन्न गरेको छ । २०११ सालमा कृतिको विक्रीवितरणमा  तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो ।  स्रष्टा परिचयअन्तरगत भने नवलपरासीमा रहेर क्रियाशील साहित्यकार गोविन्दराज विनोदीको परिचय दिइएको थियो ।

        को अछुतको परिचर्चा गर्दै युवा समालोचक डी. डी. अधिकारीले को अछुतलाई नेपाली उपन्यास परम्परामा नवीन धाराको निर्माण गर्न सफल उपन्यास भन्दै यसले उठाएको जातीय छुवाछुतविरुद्ध उठाएको क्रान्तिकारी स्वरको प्रशंसा गर्नुभयो । छुवाछुतका नाममा भएका सामाजिक अन्यायको पर्दाफास गर्दै नागरिक चेतना उकास्न उपन्यास र स्वयम् लेखक शर्माले उठाएका कदम वर्तमान सन्दर्भमा समेत सान्दर्भिक भएको बताउँदै अधिकारीले कृतिले ब्राम्हणवादी सामन्ती संस्कारको खुलेर विरोध गरेकोमा जोड दिनुभयो ।

       स्रष्टा परिचय दिँदै युवा साहित्यकार अल्पज्ञानीले कवि गोविन्दराज विनोदीलाई सरल र सफल छन्द कविका रुपमा चिनाउनुभयो । उहाँले विनोदी एक निरन्तर क्रियाशील सर्जक भएको भन्दै विनोदीका रचनाले मन छुने क्षमता राख्नेमा जोड दिनुभयो । 
      सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं आहतको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तक छनोट समितिका संयोजक कृष्ण के. सी.ले स्वागत गर्दै आगामी चैत महिनाको २५ गते मोदनाथ प्रश्रितको देवासुर सङ्ग्राम कृतिको चर्चा गरिने जानकारी दिनुभएको थियो ।
            सो कार्यक्रममा समालोचक डा. विष्णु पौडेल, डा. लक्ष्मीशरण अधिकारी, प्रकाश सायमी, डा. पशुपतिनाथ तिमल्सेना, पृथ्वीनारायण क्यम्पसका प्रमुख गेहेन्द्रेश्वर कोइराला, प्राज्ञ रमेश श्रेष्ठ, मुक्तिनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन थापा ‘संयोजन’ले टिप्पणी गर्नुभएको थियो । त्यसै गरी  हिमलाल पराजुली, रघुनाथ अधिकारी, सञ्जीव पाडेल,भद्रराज त्रिपाठी, सुवास मल्ल, अल्पविराम, दीपक पराजुली, फडिन्द्र अकिञ्चन, महेन्द्र रिमाल, गीता विष्टलगायतले पनि टिप्पणी गर्नुभएको थियो भने सचिव गनेस पा्रडेलले सञ्चालन र सहसचिव उपेन्द्र पौडेलले परिचर्चाकार अधिकारीको परिचय दिनुभएको थियो । 

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..