Sunday, September 25, 2011

गजल प्रतिभा पुरस्कारवाट अथक पुरस्कृत

पोखरा ७, असोज
      गजल संन्ध्या पोखराले हरेक वर्ष मोतीजयन्तीको अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार– २०६८ बाट स्याङ्जाका गजलकार कमल पौडेल ‘अथक’ पुरस्कृत भएका छन् । विगत लामो समयदेखि पोखरामा पत्रकारिता सँगै साहित्य सिर्जनामा लागेका अथकका गजेको भोटो र प्रेमको मधुमास नामक दुई गजलसङ्ग्रहका साथै गीत, हाईकु, खण्डकाव्यलगायतका झण्डै एक दर्जन पुस्तक प्रकाशित छन् ।
      सन्ध्याले शनिबार पोखरामा एक विशेष समारोहको आयोजना गरी गजलकार अथकलाई दोसल्ला ओढाई नगद रु २ हजार २ सय एक र सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रममा बोल्दै वरिष्ठ सहित्यकार सरुभक्तले पत्रकारिता र साहित्यमा निरन्तर लागेका अथकको सम्मानले सिङ्गो साहित्य जगत नै सम्मानित भएको बताए । उनले अथकले सिर्जना गरेका साहित्यको आफुले नजिकैबाट अध्ययन गरेको र उनका कृतिहरु समाजमा पृथक र पठनीय भएको जानकारी गराए ।
      प्रतिभा छनौट समितिका संयोजक दीपक समीपले नेपालमै निरन्तर साहित्यमा समर्पित भई नेपालको इतिहासमा सबैभन्दा लामो ३ सय १० शेरको गजल सिर्जना गरी दुईवटा कृति प्रकाशन गरिसकेकाले अथकलाई पुरस्कृत गरिएको बताए । संस्थाका अध्यक्ष कपिल शर्मा ‘संञ्जोग’को अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष रुपीन्द्र प्रभावी ‘कटु’ र सचिव मन क्षेत्रीले बोलेका थिए ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..