Friday, August 26, 2011

जापानबाट शिरीषको फूल

काठमाडौ, भाद्र ९ - जापानी चलचित्रकर्मी तथा निर्देशक डा. तोसिआकी इतोह यति बेला नेपालमा छन्, पारिजातको चर्चित कृति 'शिरीषको फूल' माथि बनेको फिल्मको फाइनल टचका लागि । आधा दर्जन जापानी फिल्म र टेली सिरियल बनाएका उनी हालैको मध्याह्न भैंसेपाटीस्थित गणेश फिल्म स्टुडियोमा भेटिए । 'यस पटक डबिङ र म्युजिक सकाएर फर्किन्छु,' केही सञ्चारकर्मी र चलचित्रकर्मीमाझ सुझाव बटुल्ने गरी फिल्म देखाउन आयोजित समारोहमा उनले भने, 'जापानमा कलर करेक्सन सकाएपछि डिसेम्बरमा फेरि आउँछु ।'
'शिरीषको फूल' आउँदो डिसेम्बरभित्र पि्रमियर गर्ने सोच रहेको तोसिआकीले बताए । उनको यो दोस्रो नेपाली फिल्म हो । यसअघि उनले चलचित्र विकास बोर्डबाट अवार्डेड लघु फिल्म 'कठपुतली' निर्देशन गरेका थिए । 'शिरीषको फूल' मा आधारित यो फिल्मलाई उपन्यासकारको मर्म आत्मसात् गर्दै निर्माण गरिएको उनले दाबी गरे ।
टोकियो युनिभर्सिटीका प्राध्यापकसमेत रहेका तोसिआकीले फिल्म निर्माणअघि कृतिलाई जापानी भाषामै अनुवाद गरी दुई वर्ष अध्ययन गरेका थिए । नयनराज पाण्डे र तोसिआकी स्वयंले स्त्रिmप्ट लेखेका हुन् । 'अध्ययन क्रममा मैले कृतिको गह्रुँगो साहित्यिक मूल्य भेट्टाएँ,' नेपाली फिल्ममा नै विद्यावारिधि गरेका तोसिआकीले भने, 'यस्तो कृतिको त फिल्म बनाउनुपर्छ जस्तो लाग्यो र थालें । फिल्म कमर्सियलभन्दा आर्ट जेनेरेमा बनाएको छु ।' सरिता गुरुङ निर्माता रहेको फिल्ममा सुयोगवीरको भूमिकामा गणेश लामा, सकम्बरीको भूमिकामा शर्मिला गुरुङ, शिवराजको भूमिकामा जगत् राजथला छन् । सुयोगवीरकी आमाकी रूपमा वसुन्धरा भुसाल, टीबी लागेकी महिला पात्रमा इन्दिरा गोले, लाइब्रेरियनको रूपमा गायक सन्तोष लामा र बर्मेली युवतीको भूमिकामा चाँदनी लामा छन् । पाँच वर्षअघि सम्पदा संरक्षण र गाउँ- सहरबीचको मनोवैज्ञानिक असन्तुलनबारे 'कठपुतली' बनाउन नेपाल आएदेखि नै आफूले कुनै पनि कृतिमा कलात्मक फिल्म बनाउने धोको बोकेको बताउँदै 'शिरीषको फू्ल'बाट त्यो पूरा भएको तोसिआकीले बताए ।
कृतिको मर्मलाई ख्याल राख्दै सकम्बरी बनेकी शर्मिलाले फिल्मकै लागि मुडुली बनेकी थिइन् । दोस्रो विश्वयुद्ध लडेर आएका सुयोगवीरले साथी शिवराजको घरमा उसकै बहिनी सकम्बरी भेटेपछि एकतर्फी प्रेमलाई अघि बढाउँछ । जीवनदेखि बिरक्तिएकी बिरामी सकम्बरी प्रेममा विश्वास गर्दिनन् र उनी जीवनलाई निस्सार
देख्छिन् । सुयोगवीर बनेका गणेशले पनि 'फिल्मले कृतिको उचाइलाई सम्बोधन गरेको' दाबी गरे ।
फिल्म क्रिएसन नेपालले डि्रस्टिब्युसनको जिम्मा लिएको फिल्म डिसेम्बर महिनामा प्रिमियर भएपछि देशभरका हलहरूबाट प्रदर्शनमा ल्याउने योजना बनाइरहेको बताइएको छ । 'आर्ट मुभीको बजार विस्तार गर्न,' तोसिआकीले दाबी गरे, 'पक्कै यो फिल्मले सघाउनेछ ।'
साभार: ekantipur.com

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..