Sunday, June 10, 2012

पोखरामा नयनराजको ‘लू’ र रमेशको परिचर्चा


रुपिन्द्र प्रभावी
पोखरा, जेठ २७
      तराईमा बढ्दो गर्मीसँगै लू लागेर मानिसहरुको मृत्यु भइरहेका बेला पोखरामा भने लूको परिचर्चासँगै साहित्यप्रेमीहरु रमाएका छन् ।
    ‘पढौं र ज्ञान बाँडौं’ भन्ने मूल नारासहित पठन संस्कृतिको विकासमा क्रियाशील ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो मासिक पुस्तक परिचर्चा कार्यक्रममा शनिबार उपन्यासकार नयनराज पाण्डेको पाँचौं उपन्यास ‘लू’को परिचर्चामा साहित्यप्रेमी पाठकहरु रमाएका हुन् ।  लूसँगै स्रष्टा परिचयअन्तरगत साहित्यकार रमेश पौडेलको परिचय दिइएको थियो ।
       भारतीय सीमा क्षेत्रका नेपालीहरुले भारतीय सुरक्षाबलका कारण भोग्नुपरेको उत्पीडनका विषयमा नेपालगञ्जको परिवेशमा लेखिएको लूको परिचर्चा गर्दै समालोचक डा. लक्ष्मीशरण अधिकारीले लू समकालीन नेपाली साहित्यमा धेरैका निम्ति स्वीकार्य कृति भएको बताउनुभयो । सामाजिक यथार्थ प्रस्तुत गरिएको उपन्यास लूमार्फत् लेखक पाण्डेले युगसापेक्ष परिवर्तनको अपेक्षा राखेको भन्दै अधिकारीले लूले उठाएको विषयवस्तु प्रशंसनीय भएकोमा जोड दिनुभयो ।
      लेखक पाण्डेले लेखकीय विचार राख्दै आफ्नो ४५ वर्षे जीवनकालमा अनुभव गरेका र देखेका कुराहरुको सङ्कलनस्वरुप कृति लेखेको बताउनुभयो । लेखकका लागि न्यायको कठघरा भन्नु नै पाठकहरु भएको भन्दै नेपालगञ्जका स्थायी वासिन्दा पाण्डेले आफूले सीमा क्षेत्रमा भएका ज्यादती र तराईको सीमान्तकृत जीवनशैलीको चित्रण कृति गरेको बताउनुभयो ।
  कार्यक्रममा स्रष्टा परिचय दिँदै सोसाइटीका प्रचारप्रसार संयोजक रुपिन्द्र प्रभावी ‘कटु’ले रमेश पौडेललाई एक साहित्यिक अभियन्तका रुपमा चित्रण गर्नुभयो । पौडेलले मूलतः नवप्रवेशी साहित्यकारहरुलाई परिचित गराउन खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै कटुले जनजिब्रोका बोलीमा लोली मिलाउँदै लालित्यपूर्ण सिर्जना गर्ने सर्जकका रुपमा चिनाउनुभयो । तनहुँमा जन्मेर रेडियो नेपाल काठमाण्डौमा कार्यरत रमेश पौडेलको आभासित आलाप नामक गीतसङ्ग्रह प्रकाशित छ भने उहाँ कलाकारसमेत हुनुहुन्छ ।
       कार्यक्रममा मन्तव्य राख्दै प्राज्ञ सरुभक्तले वर्तमान समयमा पठन संस्कृति मौलाइरहेकोमा खुसी व्यक्त गर्दै  पाठकलाई पूर्वाग्रहबिना साहित्यिक कृति पढिदिन आग्रह गर्नुभयो । पोखरा विश्वविद्यालयका रजिस्टार डा. मानबहादुर के. सी.ले राजनेताहरुका कारण नेपालको सीमा अतिक्रमित भएको भन्दै त्यसतर्फ नयनरानजले जस्तै लेखकहरुले पनि सचेत भएर लेख्न सुझाव दिनुभयो । प्रा. डा. पशुपतिनाथ तिमल्सेनाले निरन्तरको सङ्घर्षले मात्र खारिन सक्ने भन्दै नयनराज त्यस्तै सर्जक भएको बताउनुभयो ।
       सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’को अध्यक्षतामा भएको कार्यक्रममा भानु कँडेल, तोयानाथ लामिाने, भूमिराज बस्ताकोटी, राजेन्द्र भण्डारी, महेन्द्र रिमाल, सरस्वती प्रतीक्षा, ईश्वरमणि अधिकारी, युवराज त्रिपाठी, रिडर्स क्लब काठमाण्डौका प्रभात पौडेल, ईश्वरमणि अधिकारीलगायतले टिप्पणी गर्नुभएको थियो । सोसाइटीका सचिव गनेस पौडेलले स्वागत मन्तव्यसहित आगामी असारको ३० गते आनाी छोइङ डोल्माको कृति ‘फूलको आँखामा’ परिचर्चा गरिने जानकारी दिनुभएको कार्यक्रमको सञ्चालन सहसचिव उपेन्द्र पौडेलले गर्नुभएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..