Wednesday, April 25, 2012

गायक ढकालको एकल साँझको तयारी पूरा

पोखरा, १२ बैसाख । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराले यही बैसाख १६ गते पोखराको पोखरा  सभागृहमा आयोजना गर्ने गायक तथा गीतकार पदमराज ढकालको एकल साँझको तयारी पूरा भएको छ ।
       प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । एकल साँझका कार्यक्रम संयोजक शेरबहादुर गुरुङले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै भने–‘ नेपाली पहिचान झल्किने प्रस्तुतिहरु रहने छन् र कार्यक्रमबाट बचत रकम वाङ्मयकै विकासमा लगाइने छ ।’ उनले बचत रकम लेखनाथ साहित्य पुरस्कार अक्षय कोष र सप्तरङ्गी सांस्कृतिक पुरस्कार अक्षय कोषलाई प्रदान गरिने जानकारी दिए ।
       सो कार्यक्रमको  मुख्य प्रायोजक अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले नेपाली संस्कृतिको विकास र सम्वद्र्धनका लागि संस्थाले सबैसँग हातेमालो गर्न चाहेको बताएका थिए । कार्यक्रममा सोरठी, धिमाल, देउसी र कौरा गीतको साथमा नृत्य पनि प्रस्तुत गरिने प्रचार–प्रसार संयोजक अभिमन्यु
विक्रम राणाले जानकारी दिएका थिए । एकल साँझमा गायक ढकाललाई हरिदेवी कोइराला, सि. डि. विजय अधिकारी, सुनिता श्रेष्ठ, कृष्ण भण्डारी, पवित्रा गुरुङ, लक्ष्मी भट्टराई र जूना क्षेत्रीले साथ दिनेछन् ।

       गायक ढकालले सो अवसरमा गोकुल जोशी, लोककवि अलि मियाँ, डा. रविलाल अधिकारी, प्राज्ञ हरिदेवी कोइरालाजस्ता गीतकारहरु र आफ्नो गरी लगभग २० वटा गीत प्रस्तुत गर्ने जानकारी दिए । संगीत र साहित्यका रुचि राख्ने ढकालको बैसाख २३ गते कास्कीको लेखनाथमा पनि एकल साँझ हुँदै छ । वि. स. २०२० सालमा कास्कीको लेखनाथ नगरपालिकको लामास्वारामा जन्मिएका ढकालका एक दर्जन एल्बम
बजारमा आइसकेका छन् ।
       पत्रकार सम्मेलनमा प्रतिष्ठानले केही महिनाअगाडि आयोजना गरेको कवि दुर्गाबहादुर शाह ‘बाबा’को एकल कवितावाचनको आय–व्याय पनि सार्वजनिक गरिएको थियो । एकलवाचनमा आम्दानी २ लाख ४ हजार ३० रुपैयाँ , खर्च १ लाख १३ हजार २० रुपैयाँ र वचत रु १ लाख १ हजार १० भएको जानकारी दिईयो । बचत रकम मध्ये ५० प्रतिशत सप्तरङ्गी कलाकार उपचार कोष र बाँकी ५० प्रतिशत संघर्षमा कलमद्धारा सञ्चालित ‘बाबा साहित्य साधक सम्मान कोष’लाई प्रदान गरिने दुर्गाबहादुर शाह एकल कवितावाचनका कार्यक्रम संयोजक बुद्ध गुभाजुले जानकारी दिए ।
       संस्थाका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पद्मराज ढकाल एकल साँझका सचिव मनकुमार श्रेष्ठले गरेका थिए ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..