Sunday, September 25, 2011

निराशापनभित्र ‘आस’ले जन्माएको आसा

‘.....भोको पेट हुँदैमा कसैले आस मार्नु हुँदैन । जिउने आसले परिश्रम र  संघर्ष गर्न प्रेरणा दिन्छ, आत्मविश्वास बढाउँछ ।......’ प्रदिप मान तुलाचनद्वारा लिखित ‘आस’ उपन्यास दुर्गम, गरीब र बिपन्न परिवारमा जन्मेर  सफलताको चुचुरो चुम्ने अधिकांशका लागि आप्mनै जीवनचिन्तनमा आधारित उपन्यास हो । मुस्ताङको टुकुचेदेखि, नेपालको सहरी क्षेत्र र भारत हुँदै  अमेरिकासम्म र पुनः अमेरिकाबाट उच्च शिक्षाको पढाई पश्चात नेपालमा नै फर्किएको ‘अमर’ पात्रको जीवनमा उपन्यास घुमेको छ । 
आफ्नो जन्मभूमि र जीवनलाई अगाडि बढाउँदै गर्दा कायम गरिएको सामाजिक सम्बन्धलाई नायक पात्र ‘अमर’ले सधै–सधै स्मरण गर्नु र प्रसङ्गहरु आइरहनुले देशप्रेम र मातृभूमिप्रतिको श्रदालाई उचो राखेको देखिन्छ । समस्या, अभाव र दुःखको जीवन गुर्जान कति पीडादायी हुन्छ भन्ने कुरा....छ्याप–छ्याप्ती भेटिन्छ र कतिपय ठाउँमा व्यक्त गरिएका वाक्यहरुले भावुक बनाउँछ पनि । ‘.....भात खान नपाउनुको कारण घरमा बाउ नभएर होला ।
केही धनी व्यापारीका छोराछोरीले सधैँ चामलको भात खाएको देख्दा ऊ यस्तै सोच्थ्यो । तर उसले  मनको यो कुरो आमालाई पनि बताएन । जब उः कहिलेकाहीँ ती व्यापारीका घरमा जान्थ्यो, स–साना छोराछोरीहरु बुवासँग बसेर भात खाइरहेको देख्दा उसको मुखमा पानी आउँथ्यो । ऊ घुटुक्क थुक निल्दै त्यहाँबाट बाहिरिन्थ्यो र सोच्न थाल्थ्यो ।....’ उपन्यासको यस हरफले अभावको जीन्दगीको भावनालाई  प्रकट गर्दछ । ‘...उसको स्कुल एउटा खुला मैदान थियो । छाना, भित्ता केही  नभएको खुला ठाउँ । कुर्सी र टेबुलको त के कुरा बस्नलाई एउटा गुन्द्री पनि  थिएन । मैदानको धुलाम्मे भुइँमा केटाकेटीहरु दुई वटा खुट्टा थपक्क पारेर बस्थे । पानी पर्दा अथवा गर्मी बढ्दा उनीहरु नजिकैको ठूलो रुखको चौतारामा  बसी पढ्थे ।......उनीहरुले सुकेको निगालोलाई तिखारेर कलम बनाए र रोग लागी कुहिएर काली भएको गहुँ प्रयोग गरी मसी बनाए । यो अवस्था कक्षा पाँचसम्म  रह्यो ।......’ यसले समग्र दुर्गम इलाकाको शैक्षिक स्तरको तस्बिर दिन्छ ।
उपन्यासमा ‘एउटा बालक अनकन्टार गाउँको झुपडीमा हुर्कन्छ । उसको बाल्यकाल अभावग्रस्त, रोचक र साहसिक छ । उसले उउटा खुला चौरमा पढाइ सुरु गर्छ । न किताब न कलम । जीवनमा ठूलो मान्छे बन्ने ठूलो ‘आस’ बोक्छ, कोसिस गर्छ, सङ्घर्ष गर्छ । समाजको हेपाइ सामना गर्छ । अनेकौँ पीडा र दुःख सहँदै ऊ
आफ्नो लक्ष्य हासिल गर्न निरन्तर अगाडि बढ्छ । अनेकौँ जुक्ति र बुद्धिले नयाँ ज्ञान र सीपको खोजीमा ऊ सात समुद्रपार संसारकै धनी देश अमेरिका पुग्छ । त्यहाँ देखेका र भोगेका घटनाहरु पनि अति रोचक, मार्मिक र हृदयस्पर्शी छन् । मिहिनेत, हिम्मत र आत्मबलले गर्दा उसको जीवनका असम्भव सपनाहरु साकार हुँदै जान्छन् ज्ञान र सीपको अकुत भण्डार बोकी ऊ मातृभूमिको सेवामा फर्कन्छ । देशमा विकृतिहरु विद्यमान रहे पनि पनि ऊ आस गर्छ– भोलिका दिनहरु सुखमय हुनेछन् ।’ यो नै उपन्यासको मूल भाव हो । आजको विद्यार्थी तथा युवा वर्गलाई मिहिनेतका लागि प्रोत्साहन गर्न, लगनशीलताका लागि उत्प्रेरित तुल्याउन र उच्च शिक्षा प्राप्तिका लागि हौसला दिन यो उपन्यास लखेको हुँ भन्ने लेखकको व्यक्त अभिव्यक्ति सार्थक देखिन्छ । आफ्नो पेसागत जीवनका पक्षमा आधा दर्जन भन्दा बढी प्रकाशित प्राविधिक पुस्तकहरु हुँदै साहित्यिक पुस्तक ‘आस’ले तुलाचनलाई साहित्यिक क्षेत्रमा पनि स्थान कायम गर्न सफल देखिन्छ ।
उपन्यासः आस (पहिलो संस्करण २०६७)
लेखकः  प्रदीप मान तुलाचन
प्रकाशकः सलिना तुलाचन
मूल्यः रु. २५०÷–
पृष्ठः २२६

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..