Wednesday, August 24, 2011

आधुनिक युगको भड्किलो तीज

आयुष सम्मोहन  
हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन अव एक साता मात्र बाँकी रहँदा जताततै तीजको रौनकताले छोएको छ । गाँउघरमा साँझपख मादलको घिन्ताङ्ग र तीजको भाकाले तीज आएको संकेत गरिरहेको छ । साउन महिनाभरि बस्ने भगवान शिवको वर्तसंगै हातको नाडीभरी लगाईने हरिया रङ्गका चुरा, हरियो पोते र मेहेन्दी र राता पहिरनले तीज नजिकिएको अझ स्पष्ट पार्दछ । ‘तीज’ भन्ने वित्तिकै खास गरेर हिन्दु महिला वर्गको विषेश पौराणिक पर्व मानिन्छ ।
              आफु जन्मेको घर , मातापिता , भाईबहिनी र इष्टमित्रलाई चटक्क छोडी पराईघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीज पर्वलाई लिइन्छ । यस पर्वमा विवाह बन्धनमा बाँधिएका चेलिबेटी माईती घरमा आउने र आफ्ना मनको भावना साटासाट गर्ने गर्दछन् । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झना कम गर्न यो पर्वले ठुलो भुमिका खेलेको हुन्छ ।

           
    तीजको ब्रत अन्य ब्रत भन्दा फरक ढङ्गले लिइन्छ । पहिलो दिन अर्थात भाद्र शुक्ल द्धितियाको दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । दरमा खिर, सेलरोटी, दहि र केरा लगायतका मिठा मिठा परीकार खाने गरिन्छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खानुपर्ने मान्यता रहि आएको छ । तर दोस्रो दिन पूर्णरुपमा भोकै ब्रत बस्ने हुनाले अबेर रातीसम्म दर खाएपनि खासै फरक नपर्ने देखिन्छ । दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतियाको दिन विवाहिताहरु आफ्नो पतिको दिर्घायूको कामना गरी र अविवाहिताहरु राम्रो पति पाउँ भनि हरितालिका तीजको ब्रत बसिन्छ । यस दिन पानी समेत नपिइ ब्रत बस्नुपर्छ भन्ने मान्यता भने ज्यादै कठोर भएका कारण यस दिन पानी पिउन र फलाहार बस्नु स्वास्थ्यको लागी लाभदायी हुन्छ ।
             हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसंग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफुले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको पूजागर्न थालिन । उनले पानी समेत नपिइ निराहार कठोर व्रत बसेपछि शिवजी प्रकठ भई चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिएपछि भाद्र शुक्ल तृतियाका दिन पार्वतीकोे तपस्या पुरा भई शिवजी पति पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोउल्लासका साथ नाचगान गरि मनाइने गरिन्छ । तीजको अन्तिम दिन ऋषिपञ्चमीको दिन अर्थात भाद्र शुक्ल पञ्चमीको दिन नजिकै रहेको नदि तलाउमा नुहाई, ३६५ वटा दतिवनले दाँत माझी सप्तऋषिको पुजा गरेपछि तीज विधिवत रुपमै समाप्त हुन्छ ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपले ब्याख्या गरीएपनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । केही वर्षयता तीज पैसा हुनेहरूका लागि मोजमस्तीको महिनौंको बहानाजस्तो भएको छ । राता साडी र गरगहनाको होडबाजी चलेको छ । तँभन्दा म के कमको प्रतिस्पर्धा देखिएको छ ।  एक दिन माइतीमा आएर खाइने दर महिनौं अघिदेखि खान र खुवाउन थालिएको छ । विभिन्न संघसंस्था र संगठनका महिलाले तीजको दर खाने नाममा चन्दा उठाउने, महँगा हल र पार्टी प्यालेस बुक गर्ने परम्परा बसेको छ । उनीहरूले यसलाई स्वतन्त्रता भन्न रुचाएका छन् । तर पढेलेखेका महिला दिदीबहिनी चन्दा उठाएर पार्टी गर्नुलाई स्वतन्त्रता मान्छन् भने त्यो विकृति मात्र हो ।  दुर्गम ठाउँमा बस्ने महिलाहरू आज पनि शिक्षाबाट वञ्चित छन् ।  ती गरिब महिलालाई यस्तो महँगो तीजको के अर्थ ? विशेष गरेर शहरी क्षेत्रमा दिनहु जसो पार्टीप्यालेस, होटल देखि तारे होटलसम्म र डिस्कोमा दर खाने र खुवाउने भन्दै मोटो रकम खर्च गर्ने प्रचलनले एकातिर तीजको पौराणिक महत्वलाई ओझेलमा पारेको छ  भने अर्को तर्फ समाजलाई धनि र गरिबमा विभाजित पनि पारिरहेको छ ।
            नेपाली गीत संगीतले आफ्नो क्षेत्र फराकिलो पारिरहेको यो बेलामा भड्किला तीजको गितले हरेक विद्युतिय माध्यममा वर्चस्व जमाई राखेका छन् । पहिले पहिले तीजमा महिलाले मात्र गति गाँउथे, महिला मात्रै नाच्थे । गीतमा गाँउठाँउका घटना, चेलीबेटीका दुःखपीर र ब्यथा, मुलुकका घटनाक्रम समेटिन्थे । तर हिजो आज पुरुषले पनि तीजका गीत गाँउछन् , अन्य दोहोरी गीतमा जस्तै केटाकेटी नारिएर नाच्छन् । दोहोरी गीतमा जस्तै केटाकेटीले माया प्रीतीका गीत गाँउछन् । अहिलेको प्राय तीजका गीतमा तीजका लय नै भेटिदैन । तीजको भाका, लय र शब्द बिगारेर गाइन्छ । पहिलेको गितमा पुरुषको स्वर भएपनि चेलिबेटी लिन जाने कुरासंग संवादको रुपमा प्रयोग हुन्थ्यो ।  
 ‘तीजको बेलामा सबै जान्छन् माइत.. आफ्नो माइत डाँडापारी छैन साइत..’
‘तीज आयो भन्छन् सबै माइत जान्छन् .. मै चेली अभागी कसको माइत जाम् ...’
माथीका हरफहरु पुराना तीज गीतका हुन् । पहिलेको गीतमा चेलिबेटीका मर्म स्पर्सी भावना समेटिएको हुन्थ्यो, तर आज भोली यस्ता गीत सायदै गाएको भेटिएला । पुराना तीजका गितमा पराईघर जाँदा उत्पन्न हुने विभिन्न जिम्मेवारी, तनाव र समस्या समेटिएको हुन्थ्यो जुन आजभोली हराउदै गएका छन् । तीजको गीतमा घटनाप्रधान र सृजनात्मक अभिब्यक्ति हुनुपर्छ । आजभोलि सांगीतिक बजारमा जति पनि तीजका गीत निस्कीएका छन् ती सबैमा खर्चिलो भड्किलो पाराको विकृतिको गन्ध पाईन्छ । ‘डिस्कोमा तीज, हाइ मेरो फरिया झन माथी सा¥यो झन तल भर्छ हाई मेरो फरिया.., दिदिले भेना पाए दाइले नि भाउजु पाए अब त चाइने जो मेरै पाले हो ...,  जस्ता गीतले खै कहाँ समेटेको छ चेलीवेटिकोे यथार्थ भावना , पिडा र सन्देश  ? केही वर्ष पहिले कोमल वलिको यस्तै भड्किलो ‘पोइल जान पाम..’ भन्ने गीतलाई प्रतिबन्धनै लगाउनु प¥यो । तीजमा भड्किलो गीत गाउने कोमल वलि अग्रपंतिमा छिन् र यसलाई निरन्तरता पनि दिदै आएकी छिन । सन्देश दिने खालका तीजका गीत सांगीतिक बजारमा न्युन संख्यामा आउने गरेको छ । तीजको मर्म र भावना बुझेकाहरुलाई आजभोलीको भडिकलो तीजको गीत न सुनीसक्नु छ न हेरीसक्नु । यस्तो विकृति घटाउन राज्य र नागरिक समाज दुबै चनाखो हुनै पर्छ ।

        ब्यावसायिक लोकप्रियताले परम्परा र भोगाइका ठेट गीतलाई ओझेलमा पारेको छ । यसले केही क्षण लोकप्रिय बनाएपनि गीत दिगो हुँदैन । कला संस्कृतीमा समयसंगै नौलोपन दिनुपर्छ तर त्यो सकरात्मक र समाजमा भिज्ने खालको हुनपर्छ । संस्कृतिको जर्गेना हाम्रो दायित्व हो भने यस्ता विकृतिको अन्त्य हाम्रो जिम्मेवारी हो त्यसैले तीजको साँस्कृतिक महत्वलाई हामी कसैले पनि विर्सनु हुँदैन । तीज मात्र होइन हाम्रा हरेक चाडपर्व दिनदिनै भड्किलो बनिरहेका छन् । हाम्रा चाडपर्व, धर्म,  कला र्सस्कृतिमा विकृती मौलाउन नदिन हामी स्वयं नै सचेत हुनु पर्छ ।

3 comments:

  1. sachhai ajkal thij bhadkilo hudai gairaheko chha

    ReplyDelete
  2. साँच्चै तीजमा विकृति बढ्दै छ .. पौराणिक पर्वलाई यसको मुल्य र मान्यता अनुसार मनाउनु पर्छ । हो नराम्रा कुरालाई परिवर्तन गर्नुपर्छ तर राम्रा कुरा परमपरा र संस्कृतिलाई त जोगाइदिउ...।

    ReplyDelete
  3. संस्कृतिको जर्गेना हाम्रो दायित्व हो भने यस्ता विकृतिको अन्त्य हाम्रो जिम्मेवारी हो त्यसैले तीजको साँस्कृतिक महत्वलाई हामी कसैले पनि विर्सनु हुँदैन ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..