Monday, August 22, 2011

ऋचाको 'फिफ्टीन एण्ड थ्री क्वार्टर्स' सार्वजनिक

ऋचा भट्टराई
      काठमाडौं, भदौ ५ -केही वर्षयता नेपाली र अंग्रेजीमा प्रकाशित कृतिहरुको समीक्षा गर्न तत्पर रहँदै आएकी तन्नेरी सञ्चारकर्मी ऋचा भट्टराई अब आफ्नै पुस्तक लिएर आएकी छिन्। उनको अंग्रेजी छोटा कथाहरुको संग्रह 'फिफ्टीन एण्ड थ्री क्वार्टर्स' को शनिबार लेखक अभि सुवेदी र कथाकार भुवन ढुंगानाले विमोचन गरेका छन्।
       जुन उमेरमा कथा लेख्न थालिन् त्यसैलाई पुस्तकको शीर्षक दिएकी ऋचाले यसमा १६ वटा कथा समावेश गरेकी छिन्। पुस्तकको समीक्षा गर्दै यी कथाहरुमा किशोर वयका परिवेश र मनोदशा वर्णित भएको पुष्पराज आचार्यले बताए । 'उनी एघार कक्षामै अध्ययनरत रहँदा पहिलो लेख एक अंग्रेजी दैनिकमा छापिएको थियो,' विमोचन समारोहका प्रमुख अतिथि सुवेदीले भने, 'त्यतिबेलै यी बालिकाले कथा लेख्न सक्ने संभावना तत्कालै उनका अभिभावकसमक्ष व्यक्त गरेको थिएँ।'
       अंग्रेजी लेख्नेहरुको सामग्रीमा रैथाने स्वाद भेटिन मुस्किल पर्ने गरेकोमा ऋचाको मुख्य विशेषता नै यही देखापरेको सुवेदीको कथन थियो। 'भाषा जति सरल छ त्यसले परिस्थितीको चित्रण उत्तिकै रोचक ढंगले गरेको छ,' पुस्तकबारे भुवन ढुँगानाको भनाइ थियो, 'कतिपय बेला नाटक हेर्दाजस्तो दृश्य शब्दबाटै बगाउन उनी सफल छिन्।'
                कार्यक्रममा ऋचाका गुरु विजय रौनियारले उनलाई उदाउदो प्रतिभाको संज्ञा दिँदै यो पुस्तक किशोरवयका पाठकहरुको निम्ति पठनीय सामग्रीका रुपमा आएको उल्लेख गरे। डेढ सय मूल्य राखिएको पुस्तकको प्रकाशन ओरियन्टल पब्लिकेशनले गरेको हो।
श्रोत :  नागरिक दैनिक

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..