Thursday, August 18, 2011

राष्ट्रिय मुक्तक प्रतियोगिताका उत्कृष्ट १५ छनौट, देशका विभिन्न मुक्तककारहरुलाई सम्मान गरिने

रुपिन्द्र  प्रभावि
      पोखरा/३२ साउन– अन्तरङ्गको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको राष्ट्रव्यापी मुक्तक प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दा सो विधाका विभिन्न व्यक्तित्व भदौं ९ गते सम्मानित हुनुहुने भएको छ ।
         सो अवसरमा सम्मानित हुनेहरुमा मुक्तकका अभियन्ता एवम् रेडियो नेपालबाट विगतको १ दशक अघिदेखि विम्बप्रतिविम्ब कार्यक्रम सञ्चालन गर्नुभई मुक्तकको विकास एवं विस्तारमा विशेष योगदान गर्नु भएका रमेश पौडेलका साथै ५ विकास क्षेत्रबाट मुक्तकमा स्थापित व्यक्तित्व बनाउन सफल हुनुभएका १– १ जनालाई सम्मानित गरिने भएको छ । त्यसरी सम्मानित हुनेहरुमा पूर्वाञ्चलबाट कृष्ण सुवेदी ‘निराकार’ झापा, मध्यमाञ्चलबाट पुष्प अधिकारी ‘अञ्जली’ चितवन, पश्चिमाञ्चलबाट शान्तिनारायण श्रेष्ठ पर्वत, मध्यपश्चिमाञ्चलबाट खगेन्द्र गिरी ‘कोपिला’ बाँके र सुदुरपश्चिमाञ्चलबाट निर्दोष डेविट कैलाली एवम् मुक्तकमा विद्या वारिधी गर्नु हुने एकमात्र व्यक्तित्व मुरारी पराजुली(रुपन्देही) सहित सबैलाई ‘अन्तरङ्ग– मुक्तक राष्ट्रिय सम्मान– २०६८’ द्वारा सम्मान गरिने भएको छ भने मुक्तकमा सोधपत्र लेख्नु हुने घनेन्द्र भुजेल(रामेछाप) लाई कदर पत्र प्रदान गरिने कार्यक्रम रहेको जानकारीमा आएको छ । 
त्यसैगरी, प्रतियोगितामा पुरस्कृत हुने १५ जनाको नाम पनि सार्वजनिक गरिएको छ । पुरस्कृत हुने व्यक्तित्वमा पहिला, दोस्रा र तेस्रा सोही दिन सार्वजनिक हुने निर्णय निर्णायक समितिबाट भएको प्रतियोगिताका संयोजक एवं अन्तरङ्गमा सम्पादक नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार पुरस्कृत हुने १५ जनामा नेपाली अल्फावेट अनुसार क्रमशः अमला अधिकारी सिन्धुली, आर.के, अदिप्त गिरी बागलुङ, इन्द्र चाम्लिङ न्यूदिल्ली, एस. के. तमु पोखरा, कुशल सुमन दोलखा, डिल्लीराम शर्मा पवर्त, निलमकुमार शर्मा पौडेल बागलुङ, पवन पाख्रीन सिन्धुली, परिवर्तन स्याङ्जा, प्रभाकर पण्डित चितवन, प्रेम आचार्य इलाम, विष्णु प्रवा सापकोटा बागलुङ, महेश न्यौपाने लमजुङ, सुदेश राई धनकुटा र सन्तोष सिग्देल तनहुँ हुनुहुन्छ ।
            परिणामअनुसार अधिकांश नयाँ स्रष्टाहरु विजयी हुनुभएको हुँदा कतिपयलाई यो नतिजा अप्रत्यासित जस्तो लाग्न सक्छ । आयोजकले निर्धारण गरेका सामान्य सर्तहरु पनि पुरा नगरेको कारणले पनि नतिजा केही फरक हुन गएको पाइयो भन्दै संयोजक पहाडीले राष्ट्रस्तरको प्रतियोगितमा मुक्तक पठाउँदा कतिपयले आयोजकलाई सम्बोधन गरेर २ हरफ लेख्न समेत कन्जुस्याई गर्नु भएको देखियो भने कतिले विज्ञापन पाएर पनि नपढी मुक्तक र वायोडाटा एकै पानाको दुवैतिर लेखेर सामान्यतः प्रेस सामाग्री समेत एकै पानाको दुईतर्फ लेखिदैन, लेख्नु हुँदैन भन्ने सामान्य ज्ञानको ख्यालसम्म पनि स्रष्टाहरुलाई नभएको हो या हेल्चक्¥याइँ गरिएको हो, बुझ्न सकिएन । त्यस्ता सामान्य कुरा पनि ख्याल नगर्ने स्रष्टाको व्यवहार देख्दा दया लागेर आएको, कतिले फोटो नपठाएका, सम्पर्क नंबर, इमेल आदि नपठाएका, तोकिएको शिर्षकमा नखेली मनपरी ढंगले लेख्ने गरेको पाइएको हुँदा प्रतियोगिताको मार्यादाका लागि आयोजकका तर्फबाट तोकिएको सर्त र शिर्षकमा पनि नंवर राखिएको थियो । जस्तो– शिर्षक तोकिएका ३ मुक्तकका लागि २०– २० अंक स्वतन्त्र २ मुक्तकका लागि १६– १६ अंक दिएर प्रत्येक मुक्तकको विषयवस्तु, शिल्प शैली, भाषा, भावनाको प्रधानता जस्ता विषय हेरिएको थियो भने आयोजकले तोकेको या माग गरेका अनुसारको विवरण आयोजकलाई सम्बोधन गरिएको पत्र, फोटो, शिर्षक आदिका लागि ८ अंक तोकिएको थियो र दस्तखतका लागि समेत ०.५ अंक राखिएको बताउनु भयो । उहाँका अनुसार मुक्तकमा शिर्षक लेखिदैन, तर यो प्रतियोगिताको एउटा अमूर्त उद्देश्य प्रतियोगितामार्फत एक अनुसन्धानको काम गर्नु पनि रहेको थियो, छ । जस्तो कि राष्ट्रियताका बारेमा स्रष्टाहरुको धारणा जान्ने, उहाँहरुले राष्ट्रियतालाई के कस्तो ढंगबाट बुझिरहनु भएको छ ? त्यस्तै, समाजमा के कस्ता विसंगतीहरुलाई स्रष्टाको दृष्टिमा परेको रहेछ भन्ने जान्नु थियो भने आफू खुशी लेख्दा र अर्काले तोकेको विषयमा लेख्दा स्रष्टाहरुको लेखकीय क्षमता के कसरी प्रष्फुटित हुँदो रहेछ ? त्यो जान्नु पनि रहेको थियो र शिर्षक तोकिएको हो । यस पटकका कमजोर अनुभवहरुलाई अर्कोपटक हुने प्रतियोगितामा सच्याइने पहाडी बताउनु हुन्छ । प्रतियोगिता पनि एकप्रकारको परीक्षा हो । त्यसका लागि विषय गत ज्ञानमात्र पर्याप्त हुँदैन, अन्य कुराहरु पनि जरुरी हुन्छ । सुनमा सुगन्ध भनिन्छ नि ! स्थापित धेरै स्रष्टाहरुका रचनामा त्यो सुगन्ध देख्न नपाएकोमा आफूलाई दुःख लागेको पनि पहाडी बताउनु हुन्छ, जसका कारण केही नसोचेका स्रष्टाहरु पछि पर्नु भएको र केही अघि आउने हुन गयो उहाँको थप भनाई छ ।
प्रतियोगितामा पहिला, दोस्रा र तेस्रा हुनेलाई क्रमशः ७, ५ र ३ हजार नगद, प्रमाण पत्र तथा अन्य १२ जनालाई सान्त्वना पुरस्कारमा विशेष उपहार र प्रमाणपत्र प्रदान गरिने छ । सो प्रतियोगितामा स्वदेश र विदेशमा कार्यक्षेत्र रहेका गरी कुल २३७ जना प्रतियोगीहरु सहभागी भएको आयोजकको भनाई छ । उनीहरुका अनुसार प्रतियोगितामा प्राप्त(संकलित) मुक्तकको संग्रह पनि निकट भविष्यमा प्रकाशन गरिने छ ।
वरिष्ठ मुक्तककार एवं गीत÷संगीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यमा प्रज्ञा भवन कमलादीमा सम्पन्न हुने उक्त कार्यक्रम ऐतिहासिक महत्वको हुने भएको हुँदा त्यसको इतिहास कायम गर्नका लागि कार्यक्रम अवधिको सिडी समेत निर्माण गर्ने गरी तयारी गरिएको पनि पहाडीले बताउनु भएको छ। उहाँका अनुसार त्यसअवसरमा मुक्तक प्रतियोगिता सफल बनाउन सहयोग गर्नु हुने केही विशेष व्यक्तित्वहरुलाई कदर पत्र तथा मायाको चिनो का साथै अन्तरङ्गलाई आजको स्थानसम्म ल्याउन विशिष्ठ योगदान गर्नु हुने करिब एक दर्जन व्यक्तित्वहरुलाई सम्मान गर्ने, अन्तरङ्गको व्यस्थापन र सम्पादन हेर्ने वर्तमान टिमलाई कदर पत्र प्रदान गर्ने समेत तयारी गरिएको छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..