Sunday, July 31, 2011

गजलकार ईश्वरमणिलाई गजल प्रतिभा सम्मान, गजल सन्ध्याले १०१ शृङ्खला पार ग¥यो

रुपिन्द्र ‘कटु’ पोखरा/१४ साउन
    गजल सन्ध्या, पोखराले आफ्नो नियमित गजलवाचनको १०१औं शुङखलाको अवसरमा गजलकार ईश्वरमणि अधिकारीलाई एक भव्य समारोहका बीच गजल प्रतिभा सम्मान–२०६८ बाट सम्मान गरेको छ । २०५९ चैत ८ गतेदेखि सन्ध्याले हरेक महिनाको दोस्रो शनिबार गजलवाचन कार्यक्रम गर्दै आएको छ ।

    १०१ वटा दीप प्रज्ज्वलनसमेत गरिएको कार्यक्रममा बोल्दै प्रमुख आमन्त्रित व्यक्तित्व प्राज्ञ सरुभक्तले ईश्वरमणि समय छैन भनेर सिर्जनाकर्मबाट टाढिनेहरुका लागि एक चुनैती भएको बताउनुभयो । उहाँले पोखरेली साहित्यका अत्यन्त उर्वर साहित्यिक सर्जकका रुपमा चित्रण गर्दै गणितका कुशल प्राध्याकसमेत रहनुभएका ईश्वरमणिले साहित्य जुनसुकै विषय पढे पनि सिर्जनशील हृदय हुनेले लेख्न सकिन्छ भन्ने उदहरण पेस गर्नुभएकोमा जोड दिनुभयो । सम्मानित व्यक्तित्व अधिकारीले आफूलाई पोखरेली साहित्यिक माहौलले नै साहित्यकार बनाएको र विशेष गरी गजल सन्ध्याकै सामीप्यले गजलकारको गौरव दिलाएको भन्दै सम्मानले अझ राम्रा सिर्जना गर्ने जिम्मेवारीबोध भएको बताउनुभयो ।

    सन्ध्याका अध्यक्ष कपिल शर्मा ‘सञ्जोग’को अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण उदासी, सरस्वती श्रेष्ठ ‘सरु’, जीवन सागर भण्डारी, लक्ष्मण थापा, दिलिप दोषीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । गजलकार दीपक समीपले सम्मानित व्यक्तित्वको परिचय दिनुभएको सो १०१औं शृङ्खलामा रुपिन्द्र प्रभावी ‘कटु’, मन क्षेत्री, अमृत गुराँस, सुरेन्द्र रोहित, सरस्वती प्रतीक्षा, फडिन्द्र अकिञ्चनलगायत झण्डै ४० जनाले गजल वाचन गरेका थिए । कोषाध्यक्ष बिर्सना बस्नेतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव मन क्षेत्रीले गर्नुभएको थियो । 

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..