Wednesday, June 15, 2011

आगोको यात्रा ......... कविता

टीकाराम उदासी
हरेक विहान
अचेल मेरा कोठामा
एक हुल आगोहरु आउँछन्
र भन्छन्
निस्कौं अब आगोको यात्रामा
हरेक साँझ अचेल मेरो संघारमा
एक हुल आँखाहरु आउँछन्
र भन्छन्
हिडौं अब चेतनाको यात्रामा
अनि सधै–सधै
मेरो मनको चौतारीमा
सस्ताउँछन् एक हुल मनहरु
र भन्छन्
चढौं आस्थाको एउटा शिखर
चढौं विश्वासको एउटा सगरमाथा
हिड्नेहरु
छेपारो जुलुसमापनि हिडिरहेछन्
र नाचिरहेछन्
नाच्नेहरु ताण्डव तृत्य
सम्भावित आफ्नै मृत्युको भयावह संगीतमा
अनि म उभिएर समयको यस चोकमा
कविता लेखिरहेछु –आगोको सुन्दर कविता
गीत गाइरहेछु –आगोको मिठो गीत
र ठीक यतिखेर
तन भरी÷मन भरी
बोकेर आगोको सिंगै समुद्र
हिडिरहेछन् अनेकौं यात्रीहरु आगोको यात्रामा
निस्किरहेछन् अनेकौं मनहरु आगोको यात्रामा

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..