Friday, August 27, 2010

अवधका मणि प्रकाश राजापुरी

 संविधानमा नेपालीको पहिचान लेखिदेऊ ।
यस राष्ट्रको गौरव र स्वाभिमान लेखी देऊ ।।

लेखी देऊ यो नेपालीको, हिमाली सभ्यता ।
भृकुटी, जनक, सीताको सम्मान लेखी देऊ ।।

               प्रसिद्ध गजलकार प्रकाश राजापुरी ,यो नाम मैले धेरै पहिले देखि सुन्दै र पढ्दै आएको हुँ । विषेश गरि जब मैले गजल लेखनमा कलम चलाउन थाले तब देखि यो नाम मेरो उत्सुक्ताको विषय थियो । राजापुरी आज हामी माझ हुनुहुन्न । राजापुरी बहुमुखी र विपुल लेखक हुनुहुन्थ्यो जसले आफ्नो जीवनमा मातृभाषा अवधि बाहेक नेपाली, उर्दु, हिन्दी र अंग्रैजी साहित्यमा समेत ठुलो योगदान गर्नु भयो, विषेश गरि गजल विधामा । पाइलै पिच्छे, भेट हुदा छुट्टिदा गजलका शेरहरुमा शायरी गर्न सक्ने राजापुरी साहित्य मानवताको अलंकार, संस्कृतिको श्रृङ्गार, मानविय सभ्यताको आधार र समाजको सच्चा ऐना हो भन्ने गर्नुहुन्थ्यो र यो आजको आवश्यक्ता पनि हो ।
    राजापुरी वि.सं. १९९६ साल भाद्र २३ गते वर्दिया जिल्लाको राजापुरमा पिता महाविरप्रसाद गुप्ता र
 माता शिवप्यारी गुप्तको कोखबाट जन्मिनुभएको थियो । वास्तविक नाम मिट्ठनलाल गुप्ता भएपनि साहित्यको दुनियामा उहाँलाई प्रकाश राजापुरीको नामले चिन्ने गरिन्छ । वि. सं. २०३६ सालमा महेन्द्र बज्म ए अदब राजापुरले “प्रकाश” को उपाधिले सम्मानि गरेपछि उहाँ प्रकाश राजापुरीको नामले चिनिन थालिनु भएको हो । यसैगरि भारतमा उहाँलाई प्रकाश नेपालीका नामले चिनिने गरिन्छ । उहाँलाई “अवधका मणि” भनेर समेत सम्मान गरिन्थ्यो । राजापुरी सानै उमेरदेखि कलामा रुची राख्नुहन्थ्यो । स्कुल पढ्दा कविता र गायनमा विशेष रुचि राख्ने राजापुरी पछि भारतको लखनउमा कलेज पढ्दाखेरि उर्दू शायरहरुको सरसंगतमा गजल विधामा कलम चलाउन शुरु गर्नु भयो । राजापुरीले बेलाबेला उर्दूका कुरा उठ्दा पाकिस्तान र हिन्दीका कुरा उठ्दा हिन्दुस्तानसंग जोड्ने भाषा, संस्कृति हो भन्ने मानसिकता बाट माथी उठ्न नसकेको गुनासो गर्नुहुन्थ्यो । प्रचार प्रसार नाम दामको लागि लेखिन तर उर्दू धेरै मीठो र धेरै समृद्ध भाषा हो उहाँ भन्नु हुन्थ्यो । उहाँको गजलमा ओज थियो, रस थियो, मिठास र दर्द थियो ।

कहिले बहार कहिले पतझरले रुवायो ।
कहिले मायालु कहिले संसारले रुवायो ।
                  यसैगरि उहाँको गजलमा राष्ट्रप्रेम, लोकतन्त्र, मानवतावाद, भातृत्वको निश्चल भावना भरपुर मात्रामा पढ्न पाइन्छ ।

कागजमा युगको आङ्खनो पहिचान कोरी देऊ
यस राष्ट्रको गौरव र स्वाभिमान कोरी देऊ ।

जनयुद्धमा जसले दिए आहुति प्राणका
ती देशभक्त सहिदको बलिदान कोरी देऊ ।
                         मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको स्थापनाकालदेखिनै उपाध्यक्ष पदमा रहि गजलको उत्थान संरक्षण र सम्र्बदनमा लाग्नु भएको राजापुरीले आफ्नो जीवनकालमा अनगिन्ती गजलहरु लिपिवद्ध गर्नु भयो । उहाँले साहित्ययात्राको सुरुवातको दिनहरुमा अवधि र उर्दूमा गजल र कविता कोर्न थाल्नु भयो । त्यस पछि हिन्दी र अंग्रेजीमा आफ्नो कलम चलाउन थाल्नु भयो । करिब करिब ५० को दशक बाट उहाँ नेपाली साहित्यमा सक्रिय देखिनु भयो । छोटो समयमा नै उहाँले नेपाली भाषा र साहित्यमा आफूलाई स्थापित गर्नुभयो । राजापुरीकोे साढे चार दशक लामो साहित्यिक यात्रामा पाँच ओटा कृति प्रकासित भएका छन् । सर्वप्रथम उहाँले हिन्दीमा लेख्नु भएका भजनहरुको संग्रह “प्रकाश भजनमाला” २०२५ सालमा प्रकाशित भएको थियो भने त्यसपछि उहाँले उर्दूमा लेख्नु भएका सेर ओ सायरियाँहरुको संग्रह “सुख दुख” प्रकाशित भयो । त्यसपछि भने उहाँको अंग्रेजी भाषाको दुईओटा कवितासंग्रहहरु “त्धभलतथ ाष्खभ ँयिधभचक” र “त्जभ कयलनक ायच तजभ अयगलतचथ ल्भउब”ि प्रकाशित भए । पछिल्लो पटक २०६२ सालमा उहाँकोे पहिलो नेपाली गजल संग्रह “जीवनको मुस्कान” प्रकाशित भयो जुन उहाँले प्रकाशित गर्नु भएको अन्तिम संग्रह बन्न पुग्यो । यस संग्रहमा उहाँका ६२ ओटा गजल समेटिएका छन् ।
               वि.सं. २०२५ सालमा राजापुरीले उहाँका गजलगुरु नासिरुद्धिन नासिरसित मिलेर “महेन्द्र बज्म ए अदब” नामको संस्था खोल्नुभएको थियो जसमा सुरुवातका दिनहरुमा राजापुरका उर्दू गजलकारहरुलाई समेटिएको थियो । त्यस पछिका दिनहरुमा भने यो संस्था ब्यापक बन्दै गयो र यसको क्षेत्र पनि विस्तारित भएको पाईन्छ । यो संस्थाको पहलमा विभिन्न समयमा नेपालका विभिन्न स्थानहरु र छिमेकी देश भारतमा समेत उर्दू गजल मुसायराको सम्भव भएको थियो । राजापुरीमा मुसायरा सञ्चालन गर्ने विशिष्ट खुबी रहेको थियो जसकालागी थुप्रै पटक छिमेकी राष्ट्र भारतको विभिन्न स्थानबाट निमन्त्रणा आइरहन्थ्यो ।

              गजलका हस्ति राजापुरी आफ्नो जीवनकालमा थुप्रै सम्मान र पुरस्कारहरुद्धारा सम्मानित हुनुभयो । उहाँलाई वि.सं. २०६३ जेष्ठ २६ गते चितवनको भरतपुरमा हाम्रो मझेरी साहित्य प्रतिष्ठानले सम्मानित गरेको थियो भने २०६४ सालमा आँकुरा नेपालले नेपालगंजमा उहाँलाई अभिनन्दन गरेको थियो । यस्तै उहाँलाई विभिन्न समयमा बर्दियाली साहित्य समाज, भेरी साहित्य समाज , राजापुर उच्च मा.वि. साहित्य मण्डलले सम्मान गरेको थियो । २०६६ साल चैत्र २८ गते अवधी सांस्कृतिक प्रतिष्ठानले नेपालगंजमा सम्मान गरेको थियो । नेपाल बाहिर भारतमा सन् १९८७ मा भारतका राष्ट्रपति के.आर नारायणबाट धन्यवादपत्र , सन् १९९७ मा भारतका प्रधानमन्त्री इन्दिरा गान्धीद्धारा प्रशंसापत्र , सन् १९९८ मा बहराइच शाखाद्धारा कदरपत्र, सन् १९९९ मा उत्तर प्रदेश उर्दू एकेडेमीले “गैर भारतिय र गैर मुस्लिम उर्दू गजलकार”को रुपमा सम्मानित गरेको थियो भने सन् २००७ मा शिवसंकल्प साहित्य परिषद, मध्यप्रदेश भारतले उहाँलाई “गजल गौरव”को उपाधिद्धारा सम्मानित गरेको थियो ।
                      राजापुरीले आफ्नो जीवनलाई साहित्यमानै अनवरत रुपमा लगाईरहनु भयो । उहाँले नेपाली तथा उर्दू गजलमा पु¥याउनु भएको योगदान अतुलनिय र अविष्मरणिय छ । मृत्यु शास्वत छ तर यसले सबैलाई विचलित बनाउछ । प्रसिद्ध गजलकार प्रकाश राजापुरीले सम्पूर्ण नेपाली साहित्य जगतलाईनै विचलित र स्तब्ध पार्दै वि.सं २०६७ साल बैशाख १५ गते राति उपचारको क्रममा भारत बहराइचको एक अस्पतालमा प्राण त्याग गर्नु भयो । नेपाली साहित्यले एकजना मुर्धन्य ब्यक्तित्वलाई गुमाउनु प¥यो । आज उहाँ हामी माझ नभए पनि उहाँले लिपिवद्ध गर्नु भएको थुप्रै साहित्यिक सृजनाहरुसंगै हामीमाझ सदैब अमर रहनुहुनेछ ।

गन्तब्य नेर पुगे त रोकिनु प¥यो मलाई ।
जब जीउने कला आयो त मर्नु प¥यो मलाई ।।

रङ्गिन सपना देखे रातिमा कोपिलाझै
जब बिहान बने फूल त झर्नु प¥यो मलाई ।।

मेरो ज्यानको म शत्रु ? होइन कदापी होइन
त्यो रुप थियो यस्तो कि, मर्नु प¥यो मलाई ।।

एक्लै नै मैले खाजे मेरो चिताको लकडी
एक्लै नै शोकमातम्, गर्नु प¥यो मलाई ।।

जसले दियो मलाई नेपाली हुने गौरब
के भो ? त्यो धरा निम्ति, मर्नु प¥यो मलाई ।।

आकांक्षाको नभमा म किन लड् प्रकाश ?
आखिर यसै धरामा झर्नु प¥यो मलाई ।।

आयुष “सम्मोहन”
नेपालगंज, बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..