Wednesday, September 22, 2010

अबको पालो मेरो “ब्यङ्ग्य”

सौरभ सागर

        देशमा कार्यकारी प्रधानमन्त्रीको अभाव भएको पनि महिनौ हुन लागि सक्यो, अझसम्म पनि प्रधानमन्त्री पाएको होईन । तिन ठुला दलका वरिष्ठ नेताहरु मध्ये कोही आफ्नै दलका नेताहरुको घातका कारण चिप्लिए, त कोही भने आफ्नो पक्षमा बहुमत जुटाउन नसकेर थन्किएका छन् । सभामुखको मुख दिन प्रतिदिन निन्याउरो हुदै गईसक्यो, पार लाग्ने छाँट छैन । साना दलहरु कसरी आफ्नो स्वार्थ पुरा गर्ने भन्नेमा तल्लीन छन् । कुरो मिल्ने कुनै सम्भावना देखिएको छैन । दक्षिणको छिमेकी बन्न लागेको काम पनि विगार्न उद्यत भएर लागेको छ । साथै सात समुद्र पारीकाले पनि दुध, दहि, मोहि के के हो ? पठाएर परिस्थिती झन अमिल्याउँदैछन । वातावरण झन झन धमिल्याउँदैछन् । त्यसैले अव नयाँ कोण र जोंडबाट अघि बढ्नु बान्छनिय देखिन्छ । प्रधानमन्त्रीको उम्मेदवार नयाँ खडा हुने बेला भै सकेको छ । विदेशी प्रभुको आशिर्वाद पाउनेले मात्र प्रधानमन्त्री बन्न पाउने, अरुले नपाउने कहिनभएको जात्रा भएको छ । यस्तो परिस्थितिमा मेरो उम्मेदवारी जरुरी भै सकेको छ ।

         हुन त मैले यस अघि कहिल्यै कुनै निवेदन हालेको भने छैन । दाम पनि कसैलाई चढाएको छैन । तर म पनि यो देशको नागरिक भएको र मेरो कार्य योजना छरछिमेकीको इच्छा अनुकुल भएकोले गर्दा मेरो उम्मेदवारीलाई स्वीकारिने छ भन्ने मलाई लाग्छ । फेरी मसंग प्रधानमन्त्री चलाउने सिप र कला पनि छ । सिप र कला भएपछि देश नचल्ने त कुरै भएन । त्यसैले आगामि हुने प्रधानमन्त्रीको निर्वाचनमा मेरो बलियो दाबेदारी छ । प्रशासन चलाउनेहरुलाई ठिक लगाउनका लागि करिमा बेगम जस्ता चौध जना फुलमन्त्री बनाउँनेछु । तिनजना उप–प्रधानमन्त्री हिमाली, पहाडी
 र तराईको बनाईने छन् । जस्लाई आ–आफ्नो क्षेत्रको बनजंगलका नयाँ पुराना सबै खाले रुखहरु काटी बिक्री गर्ने प्लानिङ्ग ल्याउन सक्ने खालको आफ्नै पक्षका एक एक जना बनमन्त्री राख्न पाउने अधिकार हुनेछ । उधोग–धन्दा बिस्थापित गरि सम्पुर्ण औधोगिक सामानहरुको आयात गर्न सक्ने क्षमताको आपुर्ति मन्त्री हुनेछ । देशमा रोजगारीको अवसरहरुलाई निमिट्यान्न पारी युवाहरुलाई बैदेशिक रोजगारीमा पठाउन सक्ने श्रममन्त्री हुनेछ । अर्थमा कतै कुनै पार्टीमा नलागेको व्यक्तिलाई मन्त्रीमा ल्याउने छ । बजेट देशको विकासको लागि नभई सबै पार्टीको आवश्यकतालाई हेरेर ल्याउन निर्देशन दिईनेछ । शिक्षा देशकाल परिस्थिति सुहाउँदो बनाउन बैदेशिक पाठ्य सामाग्रीहरुको आयात गरीने छ । पढाईको भाषालाई हिन्दी बनाईने छ । गृहलाई अझ सशक्त बनाउन लुटपाट, चोरी तथा डकैतीमा महारथ हासिल गरेको व्यक्तिलाई खुल्ला प्रतिस्पर्धाबाट मन्त्री छानी नियुक्त गरिने छ । भ्रष्टाचार मौलाउन नदिन एकद्धार प्रणालीको व्यवस्था मिलाईनेछ । पर्यटनको विकासको लागि प्रत्येक मन्त्रीलाई महिनामा एकपल्ट अनिवार्य बिदेश भ्रमणमा पठाउने छ तर दक्षिणी छिमेकी देशको हकमा भने समय सिमा तोकिने छैन । सवारी साधनको आयातलाई दोब्बर बृद्धि गरिने छ र यसरी ल्याईने सवारी साधन भारतीय हुनु पर्नेछ । ईन्धनको व्यवस्था भने सवारी साधन आयात कर्ता आफैले व्यवस्था गर्नु पर्नेछ ।

           देशको प्राकृतिक सम्पदा सबै दलहरुलाई बरावर हुने गरि भाग लगाईने छ । एकले अर्काको भागमा परेको नदीनाला तथा अन्य श्रोतहरु बेचेर खाएकोमा कुरा काट्न पाईने छैन । महाकाली सन्धिबाट देशलाई प्रत्येक बर्ष एक खर्ब विस अर्ब आम्दानी भएको भएता पनि त्यो रकम एउटा नेताले मात्र झ्वाम पारेको देखिएकोले यस्ता खाले सन्धिहरु आगामी दिनहरुमा थप गर्दै लगिने छ जसबाट सबै नेताहरु क्रमशः लाभान्वीत हुदै जानेछन् । यस्ता सन्धि गरेका बखत सहि गर्ने नेताहरुलाई जाँड भाङ्ग खान त के चाख्नसम्म दिईने छैन । चौबिसै घण्टा लोडसेडिङ्ग गरी विजुली दक्षिण तिर निर्यात गरिने छ । महङ्गो मुल्यमा ईन्भर्टर किन्न जनतालाई बाध्य गरिने छ र ईन्भर्टर चार्ज गर्नमात्र पुग्ने गरी डिजल–प्लाण्टको व्यवस्था गरिने छ । जनतालाई राहत हुने कामहरु नागरिकता, राहदानी, लाईसेन्स जस्ता अत्यावश्यक कुराहरुलाई केन्द्रिकृत गरि दैनिक लामो लाम बस्ने व्यवस्थाको लागि सुविधा सम्पन्न फुटपाथको व्यवस्था हुने छ । खाने पानीको वितरण लाईन पुरानो भै पानी वितरणमा समस्या उत्पन्न भएको हुँदा पानीको श्रोतबाटै ट्याङकरमा पानी भरेर जनताको घरघरमा वितरण गरी उठेको रकम कर्मचारीहरुलाई दामासाहीले वितरण गरिने छ ।

        आजको विश्व सञ्चारको विश्व भएकोले सम्पुर्ण देशबासिको हातहातमा मोबाईल पुग्ने गरि वितरण गरिने छ । यसरी वितरण गरिने मोबाईलको गुणस्तर सुधारको लागि प्रत्येक घरका छतछतमा टावर बनाउन लगाउने र टावर बनाउन नमिल्ने फुसको छाना भएको घरलाई धुरीमा बसेर मात्र फोन गर्न भनिने छ । मोबाईल चार्ज गर्न विधुत अभाव हुने हुँदा दिनको चार घण्टा नविर्सिकन मोबाइल घाममा सुकाउनु पर्नेछ । दुर्गममा बसेका गरिब जनताहरु देशलाई नै समस्या पर्ने गरी बेलाकुबेला भकाभक मर्ने गरेको कुरालाई ध्यान दिदै अकालमा मर्नेहरुकोलागि प्रत्येक गाउँमा सुविधा सम्पन्न घाटको व्यवस्था गरिने छ । शहरमा भएका अस्पतालहरुमा भ्याण्टिलेटरको संख्यामा चौवर बृद्धि गरि मरिसकेकालाई पनि भ्यान्टिलेटरमा र।ख्न परिवारलाई बाध्य पारि दैनिक महङ्गो चार्ज लगाईने छ । यसरी उठेको रकमबाट पुनः अर्को अस्पताल नयाँ नाममा खोल्न प्रोत्साहन गरिनेछ ।

        सडकहरु बर्षामा विग्रिएर रोडा गिट्टि मात्र देखिने हँदा अबपर्यन्त कालो पत्रे पहिला गरेर रोडा गिट्टिले छोपीने छ जस्ले गर्दा बर्षामा रोडा गिट्टि बगे पनि कालो पत्रे जस्ताको तस्तै रहि यातायात सुचारु गर्न मद्धत पुग्नेछ । कानुनलाई सर्बसाधारण जनताले मात्र मान्नु पर्ने हालको व्यवस्थालाई अझ व्यापक बनाईने छ । बैदेशिक सम्बन्धलाई अझ दिगो बनाउन छिमेकी देशले चुरेबाट लैजाने गरेको रोडा ढुङ्गा तथा गिट्टिको परिमाणलाई बृद्धि गराईने छ र यसरी लगेको सामाग्रीबाट तराई नै डुब्ने गरी बनाईदै गरेको ड्यामलाई चाडो सम्पन्न गर्न कुटनैतिक पहल गरी देशको पाँचबटा क्षेत्रमा बन्दरगाह निर्माण गरिदिन याचना समेत गरिने छ । डुवान क्षेत्रमा सार्क माछाका भुराल्याई पालन गरीने छ । हराएका जंङ्गे पिलरहरुको कुनै खोजखवर नै गरिने छैन । मिचिएको सिमा बारे चुँ सम्म पनि गरिने छैन । भारतिय सुरक्षाबल तथा त्यहाँका ठुलाबडाहरुलाई देश भित्र निर्वाद रुपमा हातहतियार सहित वा हतियार रहित घुमफिर गर्न पाउने अवसरलाई अझ खुकुलो पारिनेछ ।

        माथि उल्लेखित कुराहरुलाई म प्रधानमन्त्री भएकै दिनदेखि लागु गराउने प्रतिबद्धता जाहेर गर्दछु । म प्रधानमन्त्री भएपछि देशमा स्थायित्व हुन गै जनताहरु जतिनजेल बाचे पनि अमन चयनसंग बाच्न पाउने छन् । साथै, छिमेकीको ईच्छासंग मेरो कार्यक्रम ठ्याम्म मिल्ने हुँदा सरकारमा समेत दिगोपना आउने पक्का छ । राजिनामा दिन कसैले बाध्य नै पारेछन भने पनि अर्को प्रधानमन्त्री भेट्न मुस्किल हुने हुँदा शासन चलाई रहन सकिने छ । त्यसैले अबको पालो मेरो आएको छ ।

sauravsagar17@yahoo.com

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..