Friday, March 18, 2011

कथा

विक्रम सुब्बा
सुनाउँने पालो आयो आमाको
र सुनाउँनु थाल्नु भयो दन्त्य कथा -
‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो'रे
उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो'रे
खान-पिन र स्याहार पुगेकोले
बच्चो औधी फूर्तिलो र रहरलाग्दो थियो'रे
एउटा चित्रकारले बच्चो देखेपछि बिर्सनै सकेन
तसर्थ, उसले बच्चोको दुरुस्तै चित्र बनायो'रे
र दंग परेर, राख्यो'रे शिर्षक - 'देवता !'

कालान्तरमा त्यो नावालक 'देवता'
छातीभरि अनेक महत्वाकांक्षाहरूसँगै छिप्पियो
जतिजति आकांक्षाहरू झाँगिँदै गए ‘देवत्व’ घटदै गएछ
र एक दिन सम्पूर्ण देवत्व त्यागेर ऊ राजा भएछ


ताहाँ उप्रान्त राजाले
कहलिएका सामन्तहरूलाई आफ्ना भारदार बनायो'रे
गाउँ-ठाउँका परपिडकहरूलाई प्रशासनमा नियुक्त ग-यो'रे
थुप्रै सेना र हातहतियार जोडेर उसले दसतिर युद्ध थाल्यो'रे
चारजात छत्तिसै वर्णका लाखौँ मानिस काटिए
रगतको खोलामा
अनेक स्वतन्त्र राज्यका अनुहारहरू हराए
युद्धहरू जिते पछि त्यो राजा बन्यो'रे - महाराजा !

यी सबै ईतिहास हेर्दै पाको भएको उही चित्रकारले
महाराजाको रंगीन चित्र बनाउँदा क्यानभासमा
मनुष्यको छनकदिने एक क्रुर तस्बिर उत्रेछ
र चित्रकारले राखिदियो'रे शिर्षक - 'दैँत्य !'

कथाको अन्तिम अध्याय पनि आमाले सुनाउँनु भयो -
परन्तुमा 'देवता' र 'दैँत्य'का चित्रहरूसँगै टाँगिए'रे
र प्रदर्शनीमा लाखौँले ती दुई चित्रलाई गजबले हेरे'रे
आफ्नो तस्विरको शिर्षकले महाराजलाई रातभरि निद्रै लागेन
'शिर्षक-अपराध'मा चित्रकारलाई जेल कोचेछन्
आफुले बनाएका चित्रहरूको विचित्र शक्तिको सम्झना गर्दै
जेलमै एक दिन चित्रकार म-यो'रे

तर, ती दुई चित्रले सुनाएका कथा कण्ठ भएर
चित्र हेर्ने लाखौँ मानिसको मन-मस्तिस्कमा बसेछ ।
त्यसपछि -
त्यो कथा बा-आमाहरूले छोरा-छोरीहरूलाई,
र, छोरा-छोरीहरूले -
फेरि उनका छोरा-छोरीलाई सुनाउँदै ल्याउँदा
एक दिन मेरै आमाको पनि पालो आयो
आमा बितेर गइसके पछि
अब मेरो पालो आएकोछ -
'दैँत्य'हरूबाट मानिसलाई मुक्त गर्नेभए
यो कथा धेरैलाई सुनाउँनु पर्छ
जस्तो कि तमीलाई म यो कविता सुनाउँदैछु ।

२००५, एक पुरानो कथा/मिथमा आधारित
साभार – निरंकुश जुँगाविरुद्ध
(कविता संग्रह)

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..