Wednesday, February 9, 2011

श्रीपञ्चमी पर्व मनाइँयो ।।

                    हिजो श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि मनाईएको छ । माघ शुक्ल पञ्चमीको दिनदेखि सूर्य उत्तरतिर लागी दिन लामा हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकोले यस पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ । बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने सर्वोत्तम दिन मानी यसदिन घर घरमा केटाकेटीहरुलाई पठनपाठन सुर गराइन्छ ।
               शिक्षक, विद्यार्थी, साहित्यकार, चित्रकार, गायक, नर्तक, अभिनेता सबै विद्याका साधकहरुले आ–आफ्ना कला साधनाका उपादानहरु कलम, कापी, वाद्ययन्त्र आदिको पूजा गर्ने चलन छ ।
           आफ्नो विद्या निर्विघ्न सम्पन्न होस् भन्ने कामना लिएर हिजो देशभरका मन्दिरहरुमा दर्शन गर्न श्रद्धालु भक्तजनहरु भेला भएका थिए । काठमाण्डौं उपत्यकाका स्वयम्भु, लेले र नील सरस्वतीमा ठूलो मेला लागेको थियो ।
             बौद्ध धर्माबलम्बीहरुले पनि विद्याका प्रतीक मञ्जुश्री बुद्ध चीनबाट उपत्यका प्रवेश गरेको दिन मानी हिन्दुहरुले सरस्वतीको रुपमा पूजा गरेको मूर्तिलाई ज्ञानका प्रतीक सम्बुद्धको रुपमा पूजा आराधना गर्ने चलन छ ।
            यस दिनलाई अत्यन्तै शुभ दिनको रुपमा मानिने हाम्रो संस्कार अनुसार बालबालिकाको नाक, कान छेड्नुका साथै विवाह, ब्रतबन्ध जस्ता शुभ कार्य पनि गरिन्छ । सरस्वतीको पूजा गरेर यो पर्व मनाउने चलन परम्परादेखि चल्दै आएको छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..