Tuesday, June 22, 2010

गजल एक संक्षिप्त परिचय

आयुष  “सम्मोहन”
गजल एक संक्षिप्त परिचय
                                 उर्दु भाषामा अत्यन्त विकसित , लोकप्रिय र चर्चित भए पनि गजलको जननी भने अरबी भाषा हो र यसको उद्गम भुमी अरब । विस्तारै विस्तारै यो विधाको प्रभाव फारसी , उर्दु, हिन्दी हँुदै नेपाली र अन्य भाषामा विकसित हुदै गएको धेरै सोधकर्ताहरुको एक मत रहेको पाइन्छ । गजलले लगभग आठ नौ सय वर्षे इतिहाँस बोकेको देखिन्छ । यस्तै नेपाली गजल परम्पराको इतिहाँसले सय वर्ष पार गरिसकेको छ । मोतीराम भट्टले गजललाई नेपाल प्रवेश गराएको विश्लेशकहरु बताउछन् । मोतीराम भट्टकालिन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयमा मोतीमण्डलीका सदस्यहरु भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आईपुगेर वि.सं. २००७ को दशकबाट चिरकालिन सुषुप्त अवस्थामा रह्यो । वि.सं. २०३५ को दशकको अन्त्य तिर देखि ज्ञानुवाकर पौडेलको माध्यमबाट गजलले पुर्नजागृत हुने अवसर प्राप्त ग¥यो । यस पछिका मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जल, बुँद राना आदीले गजल विधालाई उल्लेख्य उचाईमा पु¥याउन ठुलो योगदान दिएको पाइन्छ ।

                  संरचनात्मक दृष्टिकोणबाट गजललाई नियाल्दा मुक्तक र गजल एउटै देखिए पनि यसमा भावको तिर्र विन्यास गरिएको हुन्छ । यो संगित चेतनाका आधारमा गित एवं बिम्ब–प्रतिक तथा उपमा जस्ता अलंकारको प्रयोग र सौन्र्दय चेतनाको दृष्टिले पनि कविताको आस्वादन दिने साहित्यको एउटा संरचना हो । गजलको आफ्नै संरचनात्मक तत्वका कारण यो विधा स्वतन्त्र विधाको रुपमा स्थापित भएको देखिन्छ । वर्तमान समयमा गजलले बृहत क्षेत्र ओगट्दै गएको देखिन्छ ।

                    “गजल” अरबी भाषाको “पोथी” वा “स्त्रीलिङ्गी” शब्द हो । अरबी भाषामा “ग” भन्नाले “वाणी” “ज” भन्नाले “स्त्री” र “अल” भन्नाले “को” वा “साथ” भन्ने हुन्छ । त्यसैले “गजल” शब्दले दिने शाब्दिक अर्थ “स्त्रीको साथ प्रयुक्त हुने वाणी” अर्थात स्वास्नी मान्छे संगगरिने वार्तालाप भन्ने बुझ्न सकिन्छ । हुनत गजलका बारेमा बिभिन्न मत मतान्तर भएको पनि पाइन्छ । कसैले यसको अर्थ प्रेयसीसंगको क्रिडा अनि कसैले नारीहरुको प्रेमको कुरा भनेर पनि अथ्र्याएका छन् । गजलको शाब्दिक अर्थ मृगशावक वा हरिणशिशु हुन्छ, अर्थात सिकार खेल्दा जब शिकारीको वााण हरिणको मुटुमा गई रोपिन्छ, त्यसबेला हृदयविदारक ढंगले हरिणले गर्ने आर्तनाद भन्ने पनि गरिएको छ ।

                   फारसी भाषामा गजलको अर्थ “वाजनान गुफ्तगु करद न” वा आइमाइका कुरा हुन्छ । आईमाईका कुरा एक विषयमा केन्द्रित नहुने भएकोले र गजलका पनि हरेक “शेर”हरु कुनै निश्चित विषयमा आवद्ध नभई आफैमा स्वतन्त्र देखिन्छन् ।

           बृहत नेपाली शब्दकोषका अनुसार “विषेशत प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यस्तै छन्दमा लेखिएको कवितालाई गजल भनिन्छ । तर थुप्रै गजलकारहरु गजललाई कविता वा गितको रुपमा लिन अश्विकार गर्छन ।

              यस्तै उर्दु–हिन्दी शब्दकोषको अनुसार “५ देखि ११ शेरहरु हुने उर्दु र फारसी कविताको एक प्रकार हो । यसमा सबै शेर एउटै रदिफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छन् । पहिलो शेरलाई मत्ला भनिन्छ जसका दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ , जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ । गजलको संग्रहलाई दिवान भनिन्छ ।

              द अक्सफोर्ड ईङ्गिलस डिक्सनरीका अनुसार विषेशत प्रेमसम्बन्धी वा रागात्मक कविताको एक प्रकार हो जसमा सिमित श्लोक , उहि अनुप्रासको आवृति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ ।

                       अर्थका दृष्टिले गजललाई फरक फरक परिभाषित गरिएपनि संरचनात्मक दृष्टिले गजल एउटा सुललित भाषिक अभिव्यञ्जना हो ।

गजल सम्बन्धी केही रमाईला तथ्य र किम्बदन्तिहरुः

– एउटा किम्बदन्ति अनुशार अरबमा एकजना “गजल” नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन विताए । शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लेखिन्थ्यो त्यसैले पछिका दिनमा यसप्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थालियो ।

– दशौं शताब्दीमा ईरानमा जन्मेका “रौदक”ि नामका शायर जो जन्मजात दृष्टिविहिन रहेको विश्वास गरिन्छ , उनैलाई गजलको जन्मदाता पनि मानिन्छ ।

गजलको संरचना
                संरचनात्मक सुगठन गजलको महत्वपूर्ण पक्ष हो । कतिपय अवस्थामा संरचनालाई त्यति ख्याल गरिएको भेटिदैन । गजल दुई दुई हरफहरु मिलाउदैमा बन्न सक्दैन । यस्तो किसिमको लेखनले गजललाई फजल बनाइरहेको हुन्छ । गजल विभिन्न संरचक घटकहरु सन्तुलित र नियमवद्ध प्रयोग गरिएका हुन्छन् । गजलको संरचना बुझ्नको लागी केही संरचक पक्षहरुको जानकारी लिन आवश्यक हुन्छ जसको लागी यो गजल प्रस्तुत गर्छु ।

गजल
जीवनमा हरपल गति हुन्छ
मायामा किन हो क्षति हुन्छ ।।

समय अविराम चल्छ हजुर
के थाहा यो यात्रा कति हुन्छ ।।
नभन म त तिमै हु सानु
नियति बुझ्नेलाई अति हुन्छ ।।

चिसो मृत्यु सामु घुडा किन टेक्ने
बाँच्नुछ जीवन जति हुन्छ ।।

१. काफिया ः– काफियाको अर्थ अन्त्यनुप्रास वा तुक हो । यो गजलको एकदमै महत्वपूर्ण अंग हो । यसलाई गजलको मुटु पनि भन्ने गरिन्छ । प्रत्येक शेरको दोस्रो पङ्तीमा र मत्लाको दुबै पङ्तीमा काफियाको प्रयोग अनिवार्य मानिन्छ । तर मत्ला वाहेकका शेरहरुमा भने शेरको दोस्रो हरफमा मात्र काफिया राखिन्छ । यदि मत्ला वाहेक अन्य शेरका पनि दुबै हरफमा काफियाको प्रयोग गरिन्छ भने त्यस्तो शेरलाई “हुस्न–ए–मतला” भनिन्छ । उदाहरणको लागी माथीको गजलमा “गति , क्षति, कति, अति र जति” काफियाको रुपमा प्रयोग गरिएका छन् ।
२. रदिफ ः– रदिफ अरवि भाषाको शब्द हो । रदिफ गजलको अनिवार्य तत्व भने होईन । काफियाको पछाडी बारम्बार दोहोरिएर आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । रदिफ नभएको गजललाई “गैर मुरद्धफ” गजल भनिन्छ । उदाहरणको लागी माथिको गजलमा काफियाको पछाडी रहेको “हुन्छ” रदिफको रुपमा प्रयोग गरिएको छ ।

३. मतला ः– मतलाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ । अतः गजलको पहिलो शेरलार्र्ई मतला भनिन्छ । मतलाको दुबै हरफमा काफियाको प्रयोग अनिवार्य हुन्छ । उदाहरणको लागी माथीको गजलको पहिलो शेर ः
जीवनमा हरपल गति हुन्छ
मायामा किन हो क्षति हुन्छ ।।

४. मक्ता ः– मक्ताको अर्थ समाप्त हुनु हो अथवा जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यही अन्तिम शेरलाई मक्ता भनिन्छ । तर अन्तिम दुई हरफ मध्ये कुनै एकमा तखल्लुसको प्रयोग गरिएकोछैन भने त्यस्तो अन्तिम शेरलाई मक्ता नभन्नुनु नै बेस हुन्छ । जस्तै ः
अघि पर्न सक्दिन मैले हरिका
नजरदेखि मोती पनि झर्न लागे
– मोतीराम भट्ट

५. तखल्लुसः– गजलको अन्तिमका दुई हरफमध्ये कुनै एकमा प्रयोग गरिने लेखकको नाम वा उपनाम नै तखल्लुस हो । माथी ४. मा दिईएको उदाहरणमा “मोती” शब्दनैै तखल्लुस हो । तखल्लुस गजलमा दुईवटा अर्थदिने खालको भएर प्रस्तुत हुनुपर्दछ । जवरजस्ती नाम राख्नको लागी मात्र यसको प्रयोग गरिनुहुदैन ।
६. मिसरा ः– मतला र मक्ता बीचका प्रत्येक दुई हरफलाई मिसरा भनिन्छ । मिसराको दोस्रो हरफमा काफियाको अनिवार्य उपस्थिति रहन्छ । मिसराको पहिलो हरफलाई “मिसरा ए उला” भनिन्छ भने दोस्रो हरफलाई “मिसरा ए सानी” भनिन्छ । मिसराको पहिलो हरफले भावको उठान र दोस्रो हरफले त्यसको समाधान गर्ने शैली गजलमा हुनुपर्दछ ।
७. शेर ः– गजलका प्रत्येक दुई हरफलाई शेर भनिन्छ । शेरको निश्चित संख्या नतोकिए पनि ५ देखी ११ वटा शेर गजलमा राम्रो ठानिन्छ ।
                 यी त गजलका केही पक्षहरुका बारेमा संक्षिप्त चर्चा थिए । तर उत्कृष्ट गजल लिपीवद्ध गर्नको लागी यति नै तत्वहरुभने पर्याप्त हुदैन गजलका अन्य पक्षहरु जस्तै बहर , रुक्न, वज्न आदिका बारेमा पनि ज्ञान हुन जरुरी छ । यसमा गजलको संरचना संगै मुख्यतः भाषाशैली, लयविधान, भावगत तिव्रता आदि पक्षहरुको आफ्नै महत्व रहेको हुन्छ ।

आयुष  “सम्मोहन”
रझेना ५ कृष्णनगर बाँके
हालः नेपालगञ्ज

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..