Friday, October 14, 2011

महान् वाणी _ पुस्तक समिक्षा

"प्रदिप पराजुली"
      “ तिमी आफ्नो जीवनलाई सफल बनाउन चाहन्छौं भने सर्वप्रथम खराब सोचलाई त्याग, पुरानो सोचलाई त्याग, भित्र्याउ नयाँ सोच, नयाँ दृष्टिकोणलाई आफूभित्र । ”
        *  स्वेट मार्डेन *
      यो भनाई राम प्रसाद खरेलद्वारा संकलन तथा सम्पादन गरिएको पुस्तक महान् वाणीमा समेटिएको पहिलो भनाई हो । वास्तवमै हरेक मान्छे सफल हुन आँफूभित्र भएको खराब र पूरानो सोचलाई त्याग्न आवश्यक छ भने नयाँ तथा राम्रो सोच आफूभित्र भित्र्याउनु पर्छ । यस भनाईलाई पूस्तकका संकलक तथा सम्पादकले लागु गरेको देखिन्छ, यो पुस्तक महान् वाणी तयार गरि प्रकाशन गरेर् । किनभने हामीले धेरै पुस्तकको अध्ययन गरेका हुन्छौं । धेरै पत्रपत्रिकाको अध्ययन गरेका हुन्छौं । र पनि ती कुरालाई आफू भित्र मात्रै सिमित गछौं । रामप्रसादले धेरै अध्ययनशिल व्यक्ति भन्दा फरक के गरेभने आफूले अध्ययन गर्ने क्रममा महत्वपूर्ण लागेका कुराहरुलाई टिपोट गर्दै राखे र अन्त्यमा त्यसलाई एउटा अर्को छुट्टै पुस्तकको स्वरुप दिए ।
यसै कुरालाई पुष्टि गर्न संकलक तथा सम्पादक राम प्रसाद खरेलले पुस्तकमा आफ्नो भनाई कही लेख्नुपर्दा भनेर लेखिएका कुरामा शुरुमा आफ्नो भनाई राखेका छन् — “ अध्ययन गर्नुको अर्थ घोक्नु होइन, नयाँ कुराको सिर्जना गर्न सक्ने बन्नु हो । यो मेरो मान्यता हो । जस्तै मोही पार्नुको अर्थ दहीलाई मन्थन गरी घिउ निकाल्नु हो । यसैगरी हामीले पनि कुनै पनि बिषयको अध्ययन गरिसकेपछि त्यसलाई मन्थन गरी नयाँ कुराको सिर्जना गर्न सक्नुपर्छ । यदि त्यसो गर्न सकिएन भने अध्ययन गर्नुको महत्व पनि हुदैन । अर्को कुरा हरेक बिषयको अध्ययनबाट हामीले जीवनलाई नयाँ तरिकाले जिउन पनि सिक्नुपर्छ । ”
      संकलक तथा सम्पादक रामप्रसाद खरेलले भनेझै हरेक कुराको अध्ययन पछि नयाँ तरिकाले जीवन जिउनु पर्छ । यही नयाँ तरिकाले जीवन जिउन उपयोगी तरिकाले जिउन उपयोगी पुस्तकको रुपमा महान् वाणी पुस्तक बजारमा आएको छ । जसलाई रेडियो परिवर्तन इटहरीले प्रकाशन गरेको हो । यो पुस्तक सबैका लागि उपयोगी छ । झन यूवा पुस्ताका लागि अझै वढी उपयोगी हुनसक्छ । पुस्तक भित्र संसारमा जीत हासिल गरेका भनौं सफल जीवन जिएका र जिरहेका महान् व्यक्तिहरुका महान् विचारहरुलाई समेटिएको छ । जुन विचारहरु पढ्नाले हामी भित्र एक प्रकारको उर्जा प्राप्त हुनसक्छ । यो एउटै पुस्तक पढ्दा धेरै लेखक, विचारक, दार्शनिक, राजनितिज्ञ आदिका विचारहरु अध्ययन गर्न पाईन्छ । साथै सयौं पुस्तकको सार पढेको अनुभूति पनि हुन्छ । केही लेख्न चाहनेका लागि पुस्तक सहयोगी हुनसक्छ । यस प्रकारका पुस्तक बजारमा धेरै आइसकेका छन् । यही भिडमा महान् वाणीले थोरै अलिक फरक अर्थ वोकेको छ । पुस्तकमा संकलक तथा सम्पादकले बिषयगत रुपमा विभिन्न महान् व्यक्तिहरुका विचारलाई समेटेका छन् । जस्तै सफलता, आध्यत्मा, नेतृत्व, राजनीति आदि । पुस्तकभित्र एक हजारका हाराहारीमा यस्ता भनाईहरु समेटिएका छन् जसले जीवनलाई सकारात्मक परिवर्तन गर्न सघाउछ । पुस्तक भित्र समेटिएको अर्को एक भनाई —
“ साँच्चैका का्रन्तिकारीहरु प्रेमका अमर अनुभूतिहरुबाट प्रेरित हुन्छन् । प्रेम गर्ने गुणको अभावमा कुनै पनि वास्तविक का्रन्तिकारीको कल्पना गर्नु असम्भव छ । ”
                                                     *     चे ग्वेभारा   *

      ६४ पेज रहेको पुस्तकको आवरणलाई पनि कलाकार विक्रमश्रिले त्यति नै कलात्मक वनाएका छन् । रेडियो परिवर्तन इटहरीका स्टेशन मेनेजर समेत रहेका संकलक तथा सम्पादक राम प्रसाद खरेलको यो पुस्तक एक पटक अध्ययन गर्नै पर्ने र संग्रह गर्ने खालको रहेको छ । अन्त्यमा पुस्तक भित्र समेटिएको एक उपयोगी भनाई । —
      “ यहाँ अवसर प्रशस्त छन् । तर अवसरलाई खोज्ने आखाँ चाहिन्छ, टिप्ने हात चाहिन्छ । हामी सुनखानीमा बसिरहेका छौं तर थाहा नपाएर ढुङ्गाको खोजीमा वाहिर पुग्छौं। कमजोरी हाम्रो तर दोष हामी अरुलाई दिन्छौं । ”
                 *    कर्ण शाक्य   *

पुस्तक – महान् वाणी
संकलक÷सम्पादक – राम प्रसाद खरेल
प्रकाशक – रेडियो परिवर्तन, इटहरी
आवरण कला – विक्रमश्रि
पृष्ठ – ६४ पेज
मूल्य – रु. १०० ।–
गोविन्दपुर – ७, मोरङ्ग हाल – इटहरी

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..